एशियाली खेलकूद आजदेखि, ४५ देशले भाग लिदै, नेपालले २९ खेलमा सहभागिता जनाउँदै

काठमाडौँ २ भाद्र/  एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ। नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन्। नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नेछन्। एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन्। ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो।

इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ। त्यस्तै थाइल्यान्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन्। एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी पुरुष १२९ र महिला ५६, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन्।

नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी छ खेल पालेम्वाङमा हुनेछ। नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल थ्री अन थ्री ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ।

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ।


प्रतिक्रिया दिनुहोस्