पर्यटन प्रवद्र्धन गर्न तोक्पेगोलामा मेला

अरुण पोस्ट संबाददाता

ताप्लेजुङ, ४ भदौ / पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र तोक्पेगोलामा आयोजित तीन दिने तोक्पेगोला साँस्कृतिक मेला सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा स्थानीय तोक्पेगोला खेलकुद तथा साँस्कृतिक क्लबले आयोजना गरेको उक्त मेला विभिन्न खेलकुद, साँस्कृतिक लगायतका गतिविधिका साथ शनिबार सम्पन्न भएको हो ।

                                              तोक्पेगोला क्षेत्रमा रहेको सोदुपोखरी ।

करिव चार हजार मिटरको उचाइमा अवस्थित तोक्पेगोला प्रशस्तै पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएर पनि आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा हालसम्म ओझेलमा परेको हुनाले पर्यटन विकास साथै प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर नै मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक डण्डु लामाले जानकारी दिनुभयो । मिक्वाखोला–५ पापुङका वडाध्यक्ष समेत रहनुभएका लामाले पर्यटन विकासको लागि हालसम्म ध्यान नपुगेकै कारण तोक्पेगोला पछि परेको बताउनुभयो ।

लामाका अनुसार धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिने सोदुपोखरी तोक्पेगोलाको एक प्रमुख पर्यटकीय स्थल हो । यससँगै साँजु पोखरी, तीन पोखरी लगायत सयौं पोखरी तथा तालतलैया सो क्षेत्रमा रहेका छन् भने फुङ्फुङ्गे झरना, हिलिमा झरना पनि पर्यटकीय आकर्षण्का केन्द्र रहेका उहाँले बताउनुभयो । यस्तै पर्टटकको आकर्षणको केन्द्रकै रुपमा पदमचाल, बिख्मा, पाँचऔले, यार्सागुम्बा लगायतका जडिबुटी, त्यहाँको चौंरीपालन, भेडापालनसँगै गोठ राखिएका फराकिलो खर्क क्षेत्रको अवलोकन गर्न पाइने र छुर्पी, भेडाको घ्यु लगायतका उपभोग्य वस्तु प्राप्त गर्न सकिने अवस्था रहेका छन् । विश्वमै दुर्लभ रेडपाण्डा, डाँफे, मुनालजस्ता जीव जनावरको अवलोकन गर्न र पृथक पहिचान तथा मौलिकता रहेको ढोक्पया जातिको संस्कृतिसँग साक्षात्कार गर्न पाइने पर्यटकीय गन्तव्यका लागि प्रत्यक्ष आधारशिलाहरु भएको वडाध्यक्ष लामाले बताउनुभयो ।

तोक्पेगोला साँस्कृतिक मेला जाने क्रममा स्थानिय युवतिहरु सामुहिक तस्विर खिचाउदैं ।

थुप्रै पर्यटकीय स्थलहरुका साथ प्रशस्त सम्भावना बोकेको तोक्पेगोला क्षेत्रलाई नै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी केही वर्षअघि पनि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार तोक्पेगाला क्षेत्र र यहाँ अवस्थित पर्यकटीय स्थलको भौतिक पूर्वाधार विकास साथै आवश्यक प्रचारप्रसार गर्न सकेमा ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु भिœयाउन सकिने सम्भावना रहेको छ । सदरमुकाम फुङ्लिङदेखि २४ कोषको दूरीमा रहेको तोक्पेगोला क्षेत्र आफैंमा पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । हालसम्म तोक्पेगोलाको सोदुपोखरी लगायत पर्यटकीय स्थलहरुको विकासका लागि कसैको ध्यान नपुग्दा ओझेलमा परेको स्थानीय केशब लामाले बताउनुभयो ।

लामाका अनुसार तोक्पेगोला क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न स्थानीयस्तरबाट पहिलेदेखि नै स्थानीबासीले पहल भने गर्दै आएका छन् । यद्यपि, स्थानीयबासीको पहल पर्याप्त नहुँदा अहिलसम्म पनि तोक्पेगोला पर्यटकीय क्षेत्रको रुपमा विकास हुन नसकेको लामाको बुझाइ छ । अब भने स्थानीय सरकारका रुपमा गाउँमा जनप्रतिनिधिहरु चुनिसकेकाले पर्यटकीय क्षेत्रको विकास हुनेमा आशा पलाएको पनि उहाँले बताउनुभयो । यसरी जैविक विविधताले भरिपूर्ण तोक्पेगोला सोदुपोखरी क्षेत्रको भ्रमणमा निस्कने यात्री तथा पर्यटकले सदरमुकाम फुङ्लिङदेखि पूरा दुई दिनको पैदल यात्रा गरेर पुग्न सकिन्छ । यात्राका क्रममा तोक्पेगोला पुग्नुअघि नै फुङ्फुङ्गे झरना साथै प्रकृतिको मनोरम सुन्दर दृष्यहरुको दृष्यावलोकन गर्न पाइने स्थानीयले बताएका छन् ।

उता तोक्पेगोला सोदुपोखरी क्षेत्रलाई अहिलेसम्म पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसक्दा सम्बन्धित क्षेत्रका बासिन्दाले रोजगारी गुमाउनुपरेको छ भने राज्यको आयस्रोत समेत गुमेको सरोकारावाला बताउँछन् । यता मेलामा आयोजना गरिएको वडास्तरीय भलिबल प्रतियोगिता मिक्वाखोला ५ पापुङले जितेको छ । जितसँगै उसले ट्रफी, मेडल, प्रमाणपत्रका साथ ५५ हजार रुपियाँ नगद पुरस्कार पाएको छ । यस्तै उपविजेता बनेके मेरिङ्देन ६ नाल्बुले ट्रफी, मेडल, प्रमाणपत्र र ३५ हजार नगद पुरस्कार पाएको छ । प्रथम पुरस्कार स्वर्गीय लाक्पा नुपु शेर्पाका छोरा पेम्बा शेर्पा, छोरीहरु सोनाम डोमा र दावा डोमा शेर्पाले बाबुको स्मृतिमा प्रायोजन गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस्