बेकह्यामलाई युएईएफएको विशेष सम्मान

लन्डन  / इंग्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्याम फुटबललाई दिएको योगदानका लागि युईएफएको प्रेसिडेन्टस अवार्डबाट सम्मानित हुने भएका छन् । फुटबलको प्रवर्द्धनमा संसारको सबै कुनाबाट लागेको भन्दै युईएफएले यस्तो सम्मान गर्न लागेको हो ।

खेल जीवनमा म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी, रियल म्याड्रिड, एसी मिलान र पेरिस सेन्ट जर्मेनबाट २० वर्ष व्यवसायिक फुटबल खेलेका उनले त्यसयता पनि फुटबल वरपर रहेर विभिन्न कार्यक्रम गर्दै आएका छन् । उनले समाजसेवामा पनि उत्तिकै समय व्यतित गरेका छन् । युईएफए अध्यक्ष एल्केजेन्डर सेफेरिनले बेकह्याम आधुनिक युगका सच्चा नायक भएको बताएका छन् ।

फुटबलमा अत्यधिक सफलता हासिल गरेका र व्यक्तिगत रुपमा पनि पृथक पहिचान बनाएका व्यक्तित्वलाई यो सम्मान प्रदान गरिंदै आएको छ । यसअघि योहान क्राएफ, बब्बी चार्ल्टन, फ्रान्ज बेकेन्बाउर, बब्बी रब्सन र पाओलो माल्डिनीले यो अवार्ड जितिसकेका छन् ।

इंग्लिस राष्ट्रिय टोलीका लागि १ सय १५ खेल खेलेका बेकह्यामले १० लिग उपाधि सहित क्लब फुटबलमा १९ उपाधि जितेका छन् । हाल मेजर लिग सकरको मायमी टोलीको मालिक समेत रहेका बेकह्यामले यो अवार्ड जितेर दिग्गज खेलाडीको सूचीमा पर्नु निकै विशेष रहेको बताएका छन् । उनलाई वर्षको अन्त्यमा मोनाकोमा हुने कार्यक्रममा सम्मान प्रदान गरिनेछ ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्