युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्ने रोनाल्डोको चाहाना

बुधबार, भदौ ६, टुरिन / क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । तर, पोर्चुगिज सुपर स्टार रोनाल्डो नयाँ क्लब युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न चाहेका छन । क्रिस्टियानो रोनाल्डो यहि सिजन १ सय मिलयन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्सले इटालीमा एक क्षत्र राज गरेपछि च्याम्पियन्स लिगमा सफलता भने पाउन सकेको छैन ।

युभेन्ट्स पछिल्लो सात बर्ष इटालियन लिग च्याम्पियन रहँदै आएको छ ।रोनाल्डोको आगमनपछि क्लबका समर्थकले पनि च्याम्पियन्स लिग जित्ने आशा राखेका छन् । ३३ वर्षे सुपर स्टार पनि त्यसका लागि प्रतिबद्ध छन् । ‘म युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न चाहन्छु । टोलीका हामी सबै त्यसमा केन्द्रित छौं,’ रोनाल्डोले भने,‘ त्यसका लागि एक एक कदम अघि बढ्दै जानुपर्ने हुन्छ । सम्भव भए यो वर्ष, नभए अर्को वा त्यसपछि । हाम्रो क्लबको मुख्य लक्ष्य लिग, कोपा इटालिया र निश्चय नै च्याम्पियन्स लिग पनि हो । ’

रोनाल्डोले आइतबार युभेन्ट्सका लागि डेब्यू गरेका थिए । लिगका त्यो खेलमा उनको टोली ३–२ ले विजयी भएको थियो । यद्दपी त्यो खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्