बिमस्टेक सम्मेलनमा,उपत्यकाभित्र भदौ १४ र १५ मा विद्यालय बन्द, तीन दिन सम्म सडकमा जोर बिजोर सवारी

काठमाडौं / बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास बिमस्टेक सम्मेलनको व्यवस्थापन सहज बनाउन सरकारले काठमाडौं उपत्यकाभित्र भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने भएको छ।  बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४–१५ मा नेपालले आयोजना गर्न लागेको हो।

बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलार्इ दृष्टिगत गर्दै सडक जाम न्यून पार्न जोर–बिजोर नम्बरमा सवारी चलाउने रणनीति लागू गर्न लागिएको हो। यसले सवारी चाप घटाउनेछ। जोर बिजोर नम्बर छनोट गर्दा अहिले सडकमा गुडिरहेकाभन्दा आधा सवारी साधन कम हुनेछन्।

दुर्इ दिन विद्यालय बन्द गर्ने तयारी

सम्मेलनको समयमा काठमाडौं उपत्यकाका विद्यालयमा सार्वजनिक बिदा दिने तयारी पनि गरिएको छ। यो विषयमा गृह मन्त्रालयले टिप्पणी उठाएर सम्बन्धित शिक्षा मन्त्रालयलार्इ पत्राचार गरिसकेको स्रोतले जनाएको छ ।उपत्यकाका विद्यालय बिदा दिनेबारे सबै पक्षबीच अनौपचारिक सहमति भैसकेको छ। गृह मन्त्रालय स्रोतले भन्यो, ‘सार्वजनिक बिदामा छलफल भएपनि त्यसमा निर्णय भने भैसकेको छैन।’ शुक्रबार वा आइतबारसम्म यो विषयमा औपचारिक निर्णय हुन्छ’, स्रोतले स्रोतले बताएको छ ।

भीभीआइपी सवारीका कारण मुख्य सडक खाली गर्दा विद्यार्थी चढेका सवारी साधन लामो समयसम्म जाममा पर्नसक्ने निष्कर्ष ट्राफिकले दिएको छ। विद्यालय बिदा गर्दा ट्राफिक चाप पनि घट्ने विश्लेषण ट्राफिक प्रहरीको छ। बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सात मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुख परिवारसहित नेपाल आउनेछन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चा ओ चा नेपाल आउने तय भैसकेको छ। यसैगरी भुटानका प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद अध्यक्ष छिरिङ वाङ्चुक, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागी हुन काठमाडौं आउने छन्। यस अघि सार्क सम्मेलनमा पनि यो विधी अपनाईएको थियो ।


प्रतिक्रिया दिनुहोस्