हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

कोक्स बजार, बङ्गलादेश / म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार (अगस्ट २५ मा) विरोध प्रदर्शन गरेका छन् ।

आफन्तहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए । उक्त दमनका कारण करिब सात लाख रोहिङ्ज्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए । बङ्गलादेश सरकारको नियन्त्रणमा रहेको विश्वमा सबैभन्दा धेरै रोहिङ्ज्या शरणार्थीहरू रहेको शिविरमा शरणार्थीहरूले शान्तिपूर्णरूपमा तर अप्रत्यासित सङ्ख्यामा प्रदर्शनमा सहभागिता जनाएका थिए ।

बङ्गलादेशको कुटुपालुङ शिबिरमा रहेका शरणार्थीहरूले प्रदर्शनमा सहभागिता जनाउँदै ‘हामी रोहिङ्ज्या हौँ ,न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । रोहिङ्ज्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल न्यानरमा बोकेर प्रदर्शन गरेका थिए । शिविरको विभिन्न भागबाट आएका महिला, बालबालिकासहितको हजारौँको सङ्ख्याका सहभागीले रुँदै ३६५ दिन बितायौँ अब हामी क्रोधित बनेका छौँ भन्ने नाराहरूसहितका प्लाकार्ड बोकेर जुलुसमा सहभागिता जनाएको थिए ।

म्यानमारको रोहिङ्ज्या लडाकूले रखाइन राज्यमा भएका ‘अत्याचार’ को विरोधमा गत बर्ष अगस्ट २५ मा प्रहरी चौकीमा आक्रमण गर्दै विद्रोह शुरु गरेका थिए । जसमा एक महिनामा करिब सात हजार रोहिङ्ज्या शरणार्थीले ज्यान गुमाएका मेडिसिन्स सान्स फ्रन्टियर्सको तथ्याङ्कमा छ ।सहभागी शरणार्थीहरूसँगको कुराकानीमा उनीहरूले गत बर्ष आफ्ना घरहरू गुमाएको स्मरण गर्दै घर छैन आशा पनि छैन भन्ने निकै निराशाजनक अभिव्यक्तिहरू समेत व्यक्त गरेका एएएफपीका सम्वाददाताले शिविरबाट गरेको रिपोर्टिङमा उल्लेख छ । उनीहरूले अल्लाहसँग प्रार्थना गर्दै आफूहरूलाई घर फर्काइदिन आग्रहसमेत गरेका देखिन्थ्यो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्