ताप्लेजुङले गर्यो ” नुनदेखि सुन व्यवसायी ” सम्मलाई सम्मान ( फोटो फिचर )

काठमाडौं, ९, भदौ / हाम्रो ताप्लेजुङ प्यारो ताप्लेजुङ भन्ने मूल नाराका साथ काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बृहत्त ब्यवसायीक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ताप्लेजुङका करिब ५ सयभन्दा बढी उद्योगी व्यवसायीहरु एकै ठाउँ भेला भएको यो पहिलो कार्यक्रम थियो । ताप्लेजुङबाट काठमाण्डौ आई विभिन्न पेशामा आवद्ध तीनसय जना व्यवसायी सम्मानित गरिएको हो ।


सधैं आ–आफ्ना कामले व्यस्त व्यवसायीहरुले एकअर्काको सम्बन्धलाई नविकरण मात्रै गरेनन्, आफ्ना उद्योग व्यवसायको मात्र बहस गरेनन, ताप्लेजुङलाई समृद्ध बनाउने योजना समेत बनाए । यति ठुलो संंख्यामा ताप्लेजुङे उद्योगी व्यवसायीहरु भेला भएको यो पहिलो कार्यक्रम थियो ।

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधी सभा सांसद तथा नेकपाका नेता योगेश भट्टराईले ताप्लेजुङमा जन्मिएर काठमाडौंमा उद्योग व्यवसायीहरुलाई एकै स्थानमा भेला गराएका हुन्, । यो कार्यक्रमको परिकल्पना भट्टराईले गरेका हुन् । उनको परिकल्पनालाई मूर्त रुप दिन यसको संयोजनको जिम्मेवारी युवा व्यवसायी तथा नेता रमेश बरालले गरेका हुन भने सचिवको काम युवा नेता सन्तोष मादेनले गरे । त्यही परिकल्पना र संयोजनमा शनिबार भव्य कार्यक्रम भएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य ,‘ताप्लेजुङमा जन्मिएर बिभिन्न उद्योग व्यवसायमा क्रियाशिल उद्योगीहरुको पहिचान गर्दै उनीहरुलाई सम्मान गर्नु र जिल्लाको समृद्धिमा उनीहरुलाई जोड्नु थियो । जिल्लाका सबै उद्योगीहरुलाई सम्मान गर्दै जिल्लाको बिकासको निम्ती अभिप्रेरित गोलबन्द गर्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक बरालले जानकारी दिए ।

कार्यक्रम संयोजक उद्यमी तथा युवा नेता रमेश बरालले भने समृद्ध ताप्लेजुङ र सुखी ताप्लेजुङे जनता निर्माण अभियानको एउटा काम हो यो कार्यक्रम,’ कार्यक्रम बारेमा संयोजक बरालले भने,‘हरेकले आफ्नो जिल्ला बनाउन अभियान सुरु गरे, देश बन्न समय लाग्दैन । हामी त्यसी अभियान सुरु गर्न चाहान्छौं ।’

कार्यक्रममा उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादव विशिष्ट अतिथि थिए ।

ताप्लेजुङ जिल्लाका पूर्वमन्त्री, सांसद, उद्योगी, पूर्व प्रशासकहरुको बाग्लो उपस्थीति रहेको कार्यक्रममा छिमेकी जिल्लाका सांसदहरु समेत उपस्थित थिए । कार्यक्रममा सबै पार्टीका नेताहरु जिल्लाका सांसद तथा युवा नेताले कार्यक्रममा बोलाएर सम्मान समेत गर्दा उद्योगीहरु दंग थिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रका उद्योगीहरुलाई सम्मान गरिएको थियो । ‘उद्योग दर्ता गरेर देशलाई राजस्व बुझाइरहेका सबै ताप्लेजुङेहरुलाई सम्मान गरिएको हो,’ कार्यक्रम बारेमा बरालले भने,‘यो अब सुरुवात हो । भबिष्यमा हामी बैंक, हाइड्रो, शिक्षा, स्वास्थ्या अनेक क्षेत्रमा सामुहिक लगानीको वाताबरण तयार पार्नेछौं ।’

कार्यक्रम बारेमा नेता भट्टराईले देशको पहिचान बदल्ने अभियान अन्र्तगत यो कार्यक्रम गरिएको बताए । ‘अबको हाम्रो बाटो देशलाई समृद्ध बनाउने हो, सबैलाई समृद्ध बनाएर देशको परिचय बदल्ने अभियान अन्तरगत यो कार्यक्रम गरिएको हो,’ उनले भने ।

यसअघि भट्टराईले एक कार्यक्रम गरेर ताप्लेजुङमा जन्मिएर आरोहण क्षेत्रमा काम गर्नेहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले अब देश समृद्धिको अभियानमा अघि बढेको बताउनुभयो । ताप्लेजुङेहरुले सुरु गरेको अभियानको उनले प्रशंसा गरे । मन्त्री यादवले ताप्लेजुङेहरुको अभियान अनुकरणीय भएको बताउनुभयो ।

कार्यक्रममा उठेको सहयोग रकम अभियान्ता याङजोम शेर्पालाई हस्तान्तरण गर्दै

कार्यक्रममा सहयोग बक्स राखेर स्वेच्छिक चन्दा समेत उठाइएको थियो । सो रकम ताप्लेजुङको अति विकट गाँउ घुन्सा स्थित निर्माणधिन स्वास्थ्य भवनको निर्माणको घुन्सा फाउण्डेसनलाई दिइएको थियो । उक्त रकम घुन्सा फाउण्डेसन की अध्यक्ष तथा अभियन्ता याङजोम शेर्पालाई हस्तान्तरण गरियो ।


प्रतिक्रिया दिनुहोस्