जिरोनामाथि रियल मड्रिडको शानदार जित

जिरोना /  रियल मड्रिडले ला लिगामा फुटबल अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो ।

जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले एक गोल फर्काए । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । १६औं मिनेटमा बोर्जाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो ।  ३९औं मिनेटमा डि–बक्समा मार्काे एसेन्सियोलाई मुनिइसाले लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जसमा कप्तान सर्जियो रामोस सहज गोल गर्न सफल भए ।

५२औं मिनेटमा फेरि एसेन्सियोलाई डि–बक्सभित्र पल गरेपछि रियलले अर्काे पेनाल्टी पायो । यसपटक करिम बेन्जेमाले सहज गोल गर्न सफल भए । ५९औं मिनेटमा ग्यारेथ बेलले इस्कोको पासलाई गोलमा परिणत गरेपछि रियलले खेलमा ३–१ को अग्रता बनाउन सफल भयो ।  ८०औं मिनेटमा करिम बेन्जेमाले  दोस्रो  गोल गर्दै रियललाई ४–१ को  अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले खेल ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यो खेलमा पनि रियलले आफ्ना पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको कुनै अभाव हुन दिएन । रियलले यसअघि पहिलो खेलमा गेटाफेमाथि २–० को जित निकालेको थियो । ला लिगाकै अर्काे खेलमा सेभिल्ला र भिल्ला रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

जितसँगै रियल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियलले गोल अन्तरमा साविकको विजेता बार्सिलोनालाई पछि पारेको हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्