कञ्चनपुरका नयाँ एसपी भन्छन् निर्मलाको हत्या योजनाबद्ध

काठमाडौ‌ भदौ ११ / कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’

निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही जटिल भए पनि अपराधी पत्ता लाग्नेमा उनी विश्वस्त छन्। सुरुमै घटनास्थलमा गएको भए एउटा माइन्ड सेट बनेर अनुसन्धान गर्न सहज हुने थियो तर अपराधी पत्ता लगाउने कुनै न कुनै आधार फेला पर्ने उनी बताउँछन्। पोस्टमार्टम रिपोर्ट, नियन्त्रणमा लिएका रोशनी र बबिता बम दिदीबहिनीको घर, त्यो घरदेखि घटना गराइएको ठाउँसम्मको दुरीमा कुनै न कुनै प्रमाण फेला पर्ने उनको भनाइ छ।

‘घटनापछि अपराधीले केही न केही प्रमाण छोड्छ’, एसपी कडायतले भने, ‘पानी बगाएको ठाउँमा भए पनि केही न केही आधार पाइएला।’ डिएनए परीक्षण र मोबाइलको कल डिटेल हेरेर पनि थप तथ्य खुल्नेमा उनी विश्वस्त छन्। प्रहरीले शुक्रबार निर्मला पढ्न गएको घरका रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको छ। ‘अदालतबाट म्याद थप गरेर सोमबारदेखि उनीहरूसँग बयान लिन सुरु गर्नेछौं ।’ शनिबार र आइतबार बिदा भएकाले उनीहरूसँग बयान नलिएको उनले बताए।

घटनास्थलको सुरुको अवस्था थाहा पाउन अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानलाई अध्ययन गरिरहेको उनले बताए। निर्मलाको हत्या भएपछि बम दिदीबहिनीको घरको एउटा कोठामा रंगरोगन गरेको स्थानीयले बताएका छन् । रङ लगाएनलगाएको अझैसम्म खुल्न सकेको छैन ।

निर्मलाले उक्लेर टिपेको भनिएको अम्बाको रूख काटिएको छ। रोशनीका बुवा दीपेन्द्र बमले सडकमा हिँड्नेले हाँगा तानेर पर्खाल भत्काउन थालेपछि रूख काटेको बताएका छन्। ‘सामान्य मान्छेले यो घटना गरेको होइन, शक्तिशाली मान्छेले योजनाबद्ध रूपमा कुनै सुरक्षित घरमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालेको हो’, स्थानीय महेश उप्रेतीले भने।

शव फेला परेको घटनास्थल नजिकै पसल सञ्चालन गर्दै आएका मोतीबहादुर नेपाल यस क्षेत्रमा बिहान ४ बजेदेखि राति ११ बजेसम्म मानिसको चहलपहल भइरहने बताए। उनले भने, ‘राति १२ देखि ३ बजेबीचमा उखुवारीमा शव ल्याएर फालेको हो ।’ साउन ११ गते खोज्न जाँदा खोलापारि उखुबारीमा उक्लिने डिलमा तीनवटा फरकफरक खट्टाका पाइला देखिएकाले निर्मलाको हत्यामा कम्तीमा तीनजना संलग्न हुन सक्ने उनी बताउँछन्।

पहिलो दिन छोरी खोज्न गएकी निर्मलाकी आमा दुर्गादेवीलाई बम दिदीबहिनीले घरभित्र पस्न नदिनु, राति २ बजेसम्म प्रहरीचौकीमा कुरेर अनुनय गर्दा पनि प्रहरीले खोजी गर्न इन्कार गर्नु, रातभर पानी पर्दा दोस्रो दिन बिहान कापीकलम नभिजेको नभेटिनु, एउटा चप्पल नपाइनु, खोजीखोजी मानसिक सन्तुलन गुमाएकालाई पक्राउ गरेर दोषी देखाउन खोज्नु, दिलीपसिंह बिष्टलाई दोषी देखाउन २६ दिनपछि कमिजको टुक्रा र कन्डमको खोल भेटिएकोे छ भनेर देखाउनु जस्ता विवरणले निर्मलाको हत्या रहस्यमय बनेको हो। आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले कञ्चनपुरबाट यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्