खोलामा झोलुङ्गे पुल नहुँदा सास्ती

दुल्लु, दैलेख, ११ भदौ / खोलामा झोलुङ्गे पुल नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दाले सास्ती भोग्नु परेको छ ।भगवतीमाई– ३ र ४ का बासिन्दा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य छन् । दुई वडालाई जोड्ने घुम्ने धारा खोलामा झोलुङ्गे पुल नहँुदा यहाँका बासिन्दाको यात्रा जोखिमपूर्ण बनेको छ । पानीको परिमाण कम भएका बेला मात्र खोला तर्न सकिन्छ । “बर्खामा जोखिम मोलेर खोला तर्नुको विकल्प छैन्,” उहाँले भन्नुभयो ।

पुल नहुँदा भगवती माध्यमिक विद्यालय धुम्नेमा अध्ययनरत विद्यार्थीलाई समस्या भएको छ । खोला तरेर यहाँका झण्डै ८० विद्यार्थी विद्यालय जाने गरेका छन् । विद्यार्थीले काठको अस्थायी पुल निर्माण गरेर आवतजावत गर्ने गरेको विद्यालयका शिक्षक शान्तिप्रसाद रेग्मी बताउनुहुन्छ । “पानी परेको दिन विद्यार्थी आउदैनन्,” उहाँले भन्नुभयो । अस्थायी पुल बाढीले बेलाबेलामा बगाउने गरेको छ । पुल निर्माणका लागि पहल भइरहेको भगवतीमाई– ४ का वडा सदस्य गणेशप्रसाद अधिकारीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्