भिख माग्दा कुन देशमा कस्तो सजाय पाईन्छ ? यी हुन् रोचक तथ्य

नेपालमा नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्ः

चीन : चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ ।

अष्ट्रेलिया : अष्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था छन् । दक्षिण अष्ट्रेलियामा भिख माग्नेलाई अढाई सय अमेरिकी डलर बराबरको रकम जरिवाना तिर्न लगाइन्छ ।

बेलायत : बेलायतमा सन् १८२४ मै भिख माग्न नपाइने कानून बनेको थियो । सार्वजनिक स्थानमा जथाभावी सुत्ने तथा भिख माग्ने गरेको पाइएमा गैरकानूनी ठहर गरी कारवाही गरिन्छ ।

डेनमार्क : डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा १९७ का अनुसार गैरकानूनी हुन्छ । त्यसरी भिख माग्नेलाई ६ महिनासम्मको जेल सजाय हुन्छ ।

फ्रान्स : सन् १९९४ मा लागू भएको नयाँ कानूनी व्यवस्थाले फ्रान्समा भिख माग्ने कामलाई गैरकानूनी कामको सूचीबाट हटाएको थियो । तर बालबालिकालाई भिख माग्न लगाउनु तथा भिख माग्ने कामका लागि जनावरको प्रयोग गर्नु अहिले पनि फ्रान्समा गैरकानूनी छ ।

फिनल्याण्ड : सन् २००३ को सार्वजनिक शान्ति सुव्यवस्था ऐनले फिनल्याण्डमा भिख माग्न कार्यलाई गैरकानूनी घोषित गरेको थियो ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्