सोलुखुम्बुको लिखुपिके गाउँपालिका पहिरोको जोखिममा

सोलुखुम्बु, १३ भदौ  / पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।निरन्तरको वर्षात्का कारण भदौ १ गते घरआँगनबाटै पहिरो गएपछि दुई घर विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक टुक्ति शेर्पाले जानकारी दिनुभयो । “पहिरोले घर नै जोखिममा प¥यो” पहिरो पीडित सुकवीरले भन्नुभयो, “अहिले आफन्तको शरणमा बसिरहेका छौँ ।”

निरन्तरको वर्षात्का कारण सुख्खा ठाउँबाट नै पानीको मूल फुट्न थालेपछि पहिरो गएको पीडित थामीले बताउनुभयो । “पहिरोले घर वरिपरिको जमीन चिराचिरा भएको छ” अर्का पीडित सुब्बा थामीले भन्नुभयो । पहिरोले घरपरिवार नै विस्थापित भएपछि वडा कार्यालयले व्यवस्थापनको प्रयास शुरु गरेको जनाएको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले पहिरो रोकथामका लागि गाउँपालिकामा छलफल गरी तत्काल व्यवस्थापन गरिने बताउनुभयो । पहिरो रोकथामका लागि पीडितलाई जिल्ला प्रशासन कार्यलयअन्तर्गतको दैवी प्रकोप उद्धार समितिबाट १० थान तार जाली प्रदान गरिएको सहायक प्रजिअ शेर्पाले बताउनुभयो ।

अविरल वर्षात्पछि खोपखर्कबाट निरन्तर पहिरो खस्दा सोताङ चेमेदुको ११ घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष ताराकुमार राईले बताउनुभयो ।पहिरो नरोकिएपछि स्थानीयवासी त्रसित छन् । स्थानीय लक्ष्मण राईका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयलाई रात बिताउन गाह्रो भएको छ । बस्ती जोखिममा परेपछि स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सोताङ गाउँपालिका–२ का वडासदस्य नैबहादुर राई बताउनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्