चारुमति बुद्ध विहारमा महापरित्राण पाठ

काठमाडौँ, १६ भदौ / विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा महापरित्राण पाठ (विशेषपूजा) गरिएको छ ।देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै सम्बन्धित धर्मगुरुले मङ्गलध्वनिका साथ आज पाठ गर्नुभएको हो । सो अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्ग महानगरभित्रका प्राचीन सम्पदा तथा संस्कृतिले अन्तर्राष्ट्रिय परिवेशमा देशको विशिष्ट पहिचान कायम गरेको उल्लेख गर्दै पुराना कला, कौशलबाट निर्मित सम्पदाले महानगरको सौन्दर्यताका साथै हाम्रो सभ्यता बढाएकाले तीनको संरक्षण गर्ने नीति महानगरले लिएको बताउनुभयो ।

कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले चाबहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ को स्थानीय तहबाट रङ्गरोगन गरी संरक्षण थालिएको जानकारी दिनुभयो । चारुमति बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बुद्धको जन्मस्थल नेपालमा भएर पनि बौद्ध साहित्य र दर्शनको अध्ययन तथा प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै बौद्ध साहित्यका माध्यमबाट राज्यको मूलधारमा आउन नसकेका गरीब तथा निमुखा वर्गको सामाजिक विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजसेवीद्वय सूर्यरत्न बज्राचार्य र मङ्गलरत्न बज्राचार्यले दिवङ्गत मातापिताको स्मरणमा पूजालाई आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्नुभएको छ । उक्त पूजाका लागि करीब रु आठ लाख खर्च लाग्ने विहारले जनाएको छ । त्यसैगरी बज्राचार्यद्वयले स्थानीय पशुपति मित्र माविलाई रु एक लाख प्रदान गरी अक्षयकोष स्थापना गर्नुभएको छ । गरीब विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो । उक्त चैत्यमा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले आइतबार निरीक्षण तथा पूजाका लागि तयारी गरिएको विहारले जनाएको छ । ९तस्वीर उपलब्ध छ । रासस


प्रतिक्रिया दिनुहोस्