ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट ७२ जना छनोट

अरुण पोस्ट समाचारतादा

ताप्लेजुङ, १६ भदौ / ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट आगामी चरणका लागि ७२ जना प्रतिस्पर्धी छनौट भएका छन् । आयोजक दोखु युवा क्लबले शनिबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाँचथर र तेह्रथुम जिल्लासहित ताप्लेजुङका ९ स्थानीय तहमा सञ्चालित पहिलो अडिसनबाट ५७ महिला र १५ पुरुष प्रतिस्पर्धी छानिएको जानकारी गराएको छ ।

आयोजक दोखु युवा क्लबका वरिष्ठ सल्लाहकार अशोक आङ्बुहाङका अनुसार पाँचथरबाट ११, तेह्रथुमबाट १० र बाँकी ५१ जना प्रतिस्पर्धी ताप्लेजुङका स्थानीय तहबाट छनोट गरिएको जानकारी दिनुभयो । आङ्बुहाङका अनुसार ताप्लेजुङको फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकाबाट २–२ जना, सिदिङ्बा र सिरिजङ्घा गाउँपालिकाबाट ४–४, मेरिङ्देन गाउँपालिकाबाट ५, आठराई त्रिबेणी गाउँपालिकाबाट ७, पाथीभरा याङ्वरकबाट ८, फुङ्लिङ नगरपालिकाबाट ९ र मैवाखोला गाउँपालिकाबाट १० जना प्रतिस्पर्धीलाई आगामी चरणका लागि छनोट गरिएको छ ।

                                        प्रेस सङ्गठन नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई ।

कार्यक्रम संयोजक क्षितिज सुनुवारका अनुसार ११ स्थानमा सञ्चालित पहिलो अडिसनमा करिव डेढ सय बढीले सहभागिता जनाएका थिए । सुनुवारका अनुसार दोस्रो अडिसन भदौ २९ गते सदरमुकाम फुङ्लिङमा हुँदैछ । दोस्रो अडिसनबाट ४० जनालाई तेस्रो अडिसनमा लगिने छ भने बाँकी ३२ जना दोस्रो चरणबाटै बाहिरिने छन् । तेस्रो, चौथो र फाइनल अडिसनको मिति पछि तय गर्दै लगिने दोखु युवा क्लबले जनाएको छ । दोस्रो अडिसनबाट छानिएका ४० जनाबाट तेस्रो अडिसनबीच २५ जनालाई अर्को चरणमा लगिने आयोजकको योजना रहेको छ । २५ बाट टप १२ प्रतिस्पर्धी छानिने भएका छन् । त्यसपछिको छनोट प्रक्रियामा भने एसएमएस भोटिङ स्टिम पनि लागू गरिने आयोजक क्लबले शनिबारकै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

टप १२ भित्रबाट ग्राण्ड फिनालियोमा ५ जनालाई प्रवेश गराइने छ । टप १२ मा प्रवेश गरेदेखि आयोजकले डान्स प्रशिक्षक समेतको व्यवस्था गर्ने तयारी रहेको जनाएको छ । प्रदेश नम्बर १ मै सबैभन्दा मोटो राशीको पुरस्कार ठानिएको डान्स स्टारका बिजेताले २ लाख रुपैयाँ बराबरको स्कुटी उपहार स्वरुप पाउँदैछन् । कोरियोग्राफर समेतको व्यवस्थामा बन्द प्रशिक्षणमा राखेर टप १२ प्रतिस्पर्धीलाई राष्ट्रिय कलाकारको उपस्थितिमा नृत्य मौका दिइने आयोजक दोखु युवा क्लबले जनाएको छ । लुकेर रहेका प्रतिभाको सम्मान तथा उनीहरुको प्रतिभा बाहिर ल्याउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सचिव समेत रहेका कार्यक्रम संयोजक सुनुुवारले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्