दसैंसम्ममा वृद्धभत्ता बढ्नसक्ने

-प्रयास लिम्बू

ताप्लेजुङ, १६ भदौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईले आउँदो दसैंसम्म सरकारले वृद्धभत्ता वृद्धिको निर्णय लिनसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल ताप्लेजुङले शनिबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सरकारबाट वृद्धभत्ता वृद्धिको निर्णय भई नसके पनि मन्त्री परिषद्को बैठकले निर्णय गर्नसक्ने बताउनुभयो ।

                              प्रेस सङ्गठन नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई ।

आगामी पाँचभित्र वृद्धभत्ता रकम जनही पाँच हजार रुपियाँ पु¥याउने वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्व घोषणबाट बिचलित नभएको नेता भट्टराईले दावी गर्नुभयो । उहाँले वृद्धभत्ता वृद्धिको सुरुवात यहि वर्षको दसैंको समयमा हुने सङ्केत गर्नुभयो । सरकारले असअघिको बजेटमार्फत व्यवस्था गर्न नसके पनि मन्त्री परिषद् बैठकले बिशेष व्यवस्था लागू गरेर कार्यान्वयन गर्न सक्ने उहाँको भनाइ छ ।

यस्तै ताप्लेजुङका केही ठूला आयोजनाहरु सङ्घीय सरकारको रातो किताबमा सुरुमा समावेश नभएको पाइए पनि ती योजना पुनः सङ्घीय सरकारले नै कार्यान्वयन गर्नेगरी योजना अघि बढेको बताउनुभयो । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचिन भट्टराईले जिल्लाका पूराना ठूला तीन आयोजनामा अर्को नयाँ थप भई चारवटा आयोजना सङ्घीय सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले यसअघिका राष्ट्रिय गौरवका आयोजनाहरु तमोर करिडोर, उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्ग र मदन भण्डारी राजमार्गको बजेट केन्द्रबाटै आउने बताउनुभयो । अर्को नयाँ थप भएको आयोजना लिम्बुनी पुलदेखि सिनाम–याम्फुदिन हुँदै कञ्चनजङ्घा आधार शिविर पुग्ने काबेली करिडोर भएको उहाँले बताउनुभयो । उक्त आयोजनाहरु आवश्यक बजेटका साथ द्रूत कार्यान्वयन हुने पनि उहाँले दावी गर्नुभयो ।

यस्तै स्थानीय योजनाहरुलाई पनि प्रभावकारी कार्यान्वयन गर्नका लागि सङ्घीय सरकारले नै स्थानीय तहलाई अनुदान बजेट उपलब्ध गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले पनि प्रतिनिधि तथा प्रदेशसभाकै सदस्यबीचको सल्लाहबाट जिल्लाका लागि थुप्रै योजनाहरु स्वीकृत भएका छन् । उक्त स्वीकृत योजना तथा बिनियोजित बजेट समयमै खर्च गर्न सके केही न केही विकासको मुहारमा चाँडै परिवर्तन आउने उहाँले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्