रेडक्रसका महासचिव सी सोमबार नेपाल आउँदै

काठमाडौँ, १७ भदौँ  / रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव यास सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय आह्वानसँगै महासचिव सीवले नेपाल भ्रमण गरी भूकम्पछिको रेडक्रसकर्मीले गरेका खोज, उद्धार तथा राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको नियन्त्रणमा आउन लाग्नुभएका सीले विशेष गरी विसं २०७२ का वैशाख महिनाको विनाशकारी भूकम्पछि सोसाइटीले गरेका मानवीय सेवा एवं अन्य विविध कार्यक्रमको बारेमा जानकारी लिनुहुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसित महासचिव सीले द्विपक्षीय भेटघाट गर्नुहुने कार्यक्रम छ । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च नेतृत्वसंग महासचिव सीले द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिब्यराज पौडेलले जानकारी दिनुभयो ।

सेनेगलका नागरिक महासचिव सी मानवीय सेवा र विकासको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ । सञ्चार विभाग प्रमुख पौडेलकाअनुसार सीले आफ्नो भ्रमणका क्रममा सिन्धुलीमा भूकम्पपछि भएका पुनःनिर्माणका गतिविधि बारेमा स्थलगत रुपमा अवलोकन, नेपाल रेडक्रसको स्थापनाको ५६ औँ  स्थापना दिवस तथा अन्य कार्यक्रममा सहभागी हुने जनाइएको छ । भूकम्पपछि नेपाल रेडक्रसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास पुनःनिर्माण, सरसफाइ तथा खानेपानी, आयआर्जनलगायत क्षेत्रमा सहयोग गरिराखेको छ । रासस


प्रतिक्रिया दिनुहोस्