उपत्यकाका ६ स्थानमा अब फ्रि–वाइफाइ, यी ठाउँमा चल्छन् फ्रि–वाइफाइ

काठमाडौं, १७ भदौ / घर बाहिर निस्केका बेला महँगो डाटा किनेर इन्टरनेट चलाउँदै आएका उपत्यकाबासीले अब फ्रि–वाइफाइ त्यो पनि फुल स्पिडमा चलाउन पाउने भएका छन् ।

काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाइफाई सेवा शुरु भएको छ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाइफाइ सेवा शुरु गरेको हो । वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धी अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरेकाछन् । मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गरे । उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिने नीति लिइएको पनि स्मरण गराए । सो सेवालाई शुभारम्भ गर्न काठमाडौं महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते नै सम्झदारी भएको थियो । यसबीचमा परीक्षण गरेपछि मात्रै सो सेवाको औपचारिक उद्घाटन गरिएको पनि मेयर शाक्यले जानकारी दिए । सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्ने छैन । वर्ल्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाइफाइ सेवाको व्यवस्था गरिएको हो ।

यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ । सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाइफाइ चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्ने छ । तर अर्को एक्सेस प्वाइन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वर्ल्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्