बुटवलमा दुग्ध कृषकलाई बाल्टी उपहार

बुटवल, १८ भदौ / बुटवल उप–महानगरपालिकाले नगरभित्र ग्रामीण क्षेत्रका दुग्ध कृषकलाई बाल्टी वितरण गरेको छ । उपमहानगरपालिका–१४ का विभिन्न टोलका किसानलाई दुग्ध उत्पादनमा कृषकलाई प्रोत्साहित गर्न बाल्टी वितरण गरिएको हो । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरले व्यावसायिकरुपमा दुग्ध उत्पादन शुरु गरेका किसानका लागि बाल्टी वितरण गरेको हो । ती स्थान ग्रामीण क्षेत्र दूध उत्पादनका पकेट क्षेत्र हुन् ।

वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायतका विभिन्न टोलका १०० किसानलाई उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गर्दै गोठदेखि ओठसम्मै सफा दूध भन्ने सङ्कल्पलाई साकार पार्न किसानलाई आग्रह गर्नुभयो । त्यसक्रममा वडाध्यक्ष दधिराम न्यौपानेले वडाले किसानको दुग्ध उत्पादन क्षमताका आधारमा चरणबद्धरुपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उपमहानगरपालिकाले समृद्ध बुटवल सुखी जनताको सङ्कल्पसाथ समृद्धिका आधार तय गर्दै तिनै आधारलाई साकार पार्ने कार्यक्रम बनाएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी बताउनुहुन्छ । उपमहानगरका १९ वटै वडामा त्यहाँको उत्पादन अवस्था र सम्भावनालाई अध्ययन गर्दै आवधिक र दीर्घकालीन महत्वका योजना छनोट भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्