मेस्सीले आफ्नै रेकर्ड तोड्दै बनाए नयाँ रेकर्ड

बार्सिलोना /  स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पछिल्लोपटक हुएस्काविरुद्ध  घरेलु लिग ला लिगामा  भएको खेलबाट उनले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका छन् ।

 

क्याम्प नोउमा भएको खेल बार्सिलोनाले ८–२ ले जित्दा कप्तान मेस्सीले २ गोल गरेका थिए । हुएस्का यसै सिजन मात्रै सेगुन्डा लिगबाट बढुवा भएर ए लिगमा चढेको क्लब हो । मेस्सीले हुएस्काविरुद्धको पहिलो खेलमै गोल गरेर ला लिगामा सबैभन्दा धेरै क्लबविरुद्ध गोल गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् । हुएस्काविरुद्ध गोल गरेसँगै मेस्सी अब ला लिागमा विभिन्न ३७ क्लबविरुद्ध गोल गर्ने एक मात्रै खेलाडी बनेका छन् ।

गएको सिजन उनले नवप्रवेशी जिरोनाविरुद्ध गोल गर्दै सबैभन्दा धेरै ३६ टोलीविरुद्ध गोल गर्ने खेलाडीको रेकर्ड बनाएका थिए । यसपटक उनले आफ्नै रेकर्ड तोडेका हुन् । त्यसअघि ला लिगामा विभिन्न ३५ टोलीविरुद्ध गोल गर्ने रेकर्ड रियल मड्रिडका पूर्वसुपरस्टार राहुल गोन्जालेजको नाममा थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्