प्रेस रिभ्यूः ओली–प्रचण्ड दुवै अध्यक्ष, सरकार र पार्टीको नेतृत्व आलोपालो

 

१ फागुन, काठमाडौं ।  मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न शीर्षकमा एमाले–माओवादी एकता प्रक्रियाबारे खबर लेखेका छन् ।

कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिकाले एकता वार्ता सहमति नजिक पुगेको लेखेका छन् भने राजधानी र अन्नपूर्णले एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’ नै भएको जनाएका छन् । पार्टी नेतृत्वबारे पनि पत्रपत्रिकाहरुको समाचार बाझिएको छ । कसैले दुवै दलका अध्यक्ष नयाँ बन्ने पार्टीमा पनि अध्यक्ष नै हुने लेखेका छन् भने केहीले सह(अध्यक्षको पद सिर्जना गरेर सरकारको समेत आलोपालो नेतृत्व गर्ने विषयमा केपी ओली र प्रचण्ड सहमत हुन लागेको दाबी गरेका छन् ।

केही महिनादेखि चलेको एमाले–माओवादी एकता प्रक्रियामा प्रगति हुन नसकिरहेका बेला दुई पार्टी सहमति नजिक पुगेका हुन् ।

प्रदेश ३ मा सोमबार पहिलो प्रदेश सरकार गठन भएको छ । आजका अखबारहरुले यो विषयलाई पनि पनि नछुटाइकन छापेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शपथ लिएसँगै उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

एमाले–माओवादीले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारमध्ये आफ्नो भागमा परेका नामहरु निर्वाचन आयोगमा बुझाएको समाचारलाई पनि पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा आज लेखेका छन् ।

राजनीतिक विषयका अतिरिक्त बेथितिको विषय पनि आजको प्राथमिकतामा परेको छ । नागरिक दैनिकले कार्यविधि मिचेर बाँडिएको उपचार खर्चको फेहरिस्त पस्केको छ भने अन्नपूर्णले सेतो नम्बर प्लेटलाई रातो बनाएर ठूला व्यक्तिहरुले नै कानून मिचेको लेखेको छ ।

यसका अतिरिक्त मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको, अनिवार्य शिक्षासम्बन्धी कानुन तयार भएको लगायत समाचारले पनि आजका पत्रपत्रिकामा उत्तिकै ठाउँ पाएका छन् ।

एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रू’

राजधानी दैनिकले अन्य पत्रिकाहरुले जस्तै एमाले–माओवादी एकता प्रक्रियामा भएको प्रगतिलाई मुख्य समाचार बनाएको छ । राजधानीका अनुसार एकता प्रक्रियामा ब्रेक थ्रू नै भएको छ ।

राजधानी लेख्छ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा देखिँदै आएका समस्याको गाँठो फुकाएका छन् । सरकार र पार्टी नेतृत्वसहित सैद्धान्तिक तथा वैचारिक विषयमा लामो समयदेखि अल्झिएका दुई दलले महत्त्वपूर्ण विषयमा समझदारी जुटाउँदै एकताको गत्यावरोध हटाएका छन् ।

राजधानीका अनुसार सरकार गठनअघि एकताको खाका बनाउने र लगत्तै पार्टी एकता गर्ने सहमति बनेको छ । पार्टी र सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षले आलोपालो नेतृत्व गर्नेछन् भने सिद्धान्त र विचार निर्धारण महाधिवेशनबाट हुनेछ ।

अन्नपूर्ण पोस्ट दैनिकले लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई कम्युनिस्ट पार्टी एक हुने भएको लेखेको छ । दुई पार्टीका शीर्ष नेताको पदीय व्यवस्थापनको विषय टुंगिएपछि पार्टी एकतामा सहमति भएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार दुवै नेताले आलोपालो प्रधानमन्त्री हुने र एक प्रधानमन्त्री हुँदा अर्कोले पार्टी नेतृत्व गर्ने विषयमा समेत एकमत भएका छन् । पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी रहनेछ ।

नयाँ पत्रिका दैनिकले भने एमाले–माओवादी पार्टी एकीकरले गति लिएको उल्लेख गर्दै ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्षमध्ये एकको व्यवस्था गरेर अघि बढ्नेबारे सहमतिनजिक पुगेको लेखेको छ ।

एकीकृत पार्टीमा ओली र प्रचण्ड दुवैजना अध्यक्ष

कान्तिपुर दैनिकले वाम एकताको विधि तयार भएको र द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति भएको समाचार लेखेको छ । सहमतिअनुसार दुवै नेताले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राखिने छ । सरकारको नेतृत्व अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । तर, पाँच वर्षे कार्यकालभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि प्रधानमन्त्री बनाउने समझदारी भएको माओवादी पक्षको दाबी छ ।

कान्तिपुरले समाचारको अघि लेखेको छ, ‘औपचारिक निर्णय गर्नुअघि कुनै बदलाव नआए अब एकतापछिको पार्टीमा ओली र दाहाल दुई जना अध्यक्ष रहनेछन् ।’

कानुनअनुसार यसरी बन्न सक्छ एउटै दल

नयाँ पत्रिका दैनिकले एमाले र माओवादी एकताको कानुनी प्रक्रियालाई पनि स्थान दिएको छ । कानुनबमोजिमका प्रक्रिया पूरा गरेर निवेदन दिएमा बढीमा एक साताभित्रै निर्वाचन आयोगले एकीकृत नयाँ दलको मान्यता दिन सक्ने छ । एकीकरण हुन चाहने दलले प्रक्रिया पूरा गरेमा आयोगले ‘फास्ट ट्र्याक’बाट हप्ता दिनभित्र पनि निर्णय गर्न सक्ने भएकाले दुई पार्टी एउटै नयाँ पार्टीको हैसियतमा बढीमा १० फागुनभित्र सरकारमा सहभागी हुन सक्ने समाचारमा लेखिएको छ ।

समाचारमा थप लेखिएको छ– राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को दफा १० मा दुई वा दुईभन्दा बढी दलहरू एक–आपसमा सम्झौता गरी एकीकरण या गाभिन सक्ने व्यवस्था छ । सो दफाअनुसार सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्नेछ । तर, ऐनकै दफा २ मा केन्द्रीय समितिबाट अख्तियार प्राप्त केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिको निर्णयका आधारमा पनि निवेदन दिन सकिने भएकाले एमालेले केन्द्रीय कमिटी वा स्थायी समिति तथा माओवादीले केन्द्रीय कमिटी वा केन्द्रीय सचिवालय, पदाधिकारीस्तरको समितिले एकताको निर्णयका आधारमा आयोगमा निवेदन दिन सक्नेछ । तर, त्यसरी निवेदन दिँदा कुन दलमा गाभिने वा नयाँ दलको नाम के हुने स्पष्ट रूपमा खुलाउनुपर्ने ऐनमा व्यवस्था छ ।

आवश्यक जाँचबुझ गरेर प्रक्रिया पूरा गरेपछि ४५ दिनभित्र प्रमाणपत्र दिनेछ । त्यसलगत्तै राजपत्रमा सूचना प्रकाशित भएपछि कानुनी रूपमा दुई दलको हैसियत एकीकृत नयाँ पार्टीको हैसियतमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961