बालिकाको बलात्कार गरि हत्या गराएको आरोपमा सौतेनी आमा पक्राउ

भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना अरूलाई आफ्नै अगाडि बलात्कार गर्न लगाएकी थिइन्।

EPA

पीडित बालिकाको शव आइतवार भारतप्रशासित कश्मीरको बारामुल्ला जिल्लास्थित एउटा जङ्गलमा भेटिएको थियो। उनलाई यातना दिइएको र शरीरमा तेजाब खन्याइएको अधिकारीहरूले बताए।

” सौतेनी डाह “

बीबीसी उर्दूका अनुसार ती बालिका १० दिनदेखि हराइरहेकी थिइन्। आफ्ना पतिले छोरीलाई धेरै माया गरेकामा ती अभियुक्त महिला असन्तुष्ट रहने गरेको बताइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्‌धृत गर्दै एनडीटीभीको वेबइटमा प्रकाशित समाचारमा ती महिला ूसौतेनी डाहू बाट ग्रसित थिइन्। त्यसैले उनले आफ्नी सौता र र तिनका छोराछोरीसँग वैमनश्यता राखेको देखिएको ती अधिकारीले बताए। ती अधिकारीका अनुसार सामूहिक बलात्कारपछि ती बालिकाको बन्चरो प्रहार गरेर हत्या गरिएको थियो। आरोपितमध्येका एक १९ वर्षीय युवकले उनको शरीर छिन्नभिन्न पारेका थिए।

दोस्रो घटना

AFp

भारतप्रशासित कश्मीरमा केही महिनाभित्रै बालिकाको सामूहिक बलात्कार र हत्या भएको यो दोस्रो घटना हो। गत एप्रिल महिनामा कठुआ जिल्लामा एउटी आठ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो।

सो घटनामा आरोपित भएकाहरूको समर्थनमा निकालिएको एउटा जुलुसमा सत्तारूढ भारतीय जनता पार्टीका दुई मन्त्रीहरू सहभागी भएपछि भारतभरि आक्रोश व्यक्त भएको थियो। सन् २०१२ मा दिल्लीमा २३ वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटनायता भारतमा यौनहिंसामाथि निगरानी राख्न थालिएको छ।

त्यसपछि भारतमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पनि बन्यो। तर महिला र बालबालिकासँगको दुर्व्यवहार भने रोकिएको छैन।  बीबीसी


प्रतिक्रिया दिनुहोस्