महात्मा गान्धीको जन्मजयन्तीमा साकाहारी अभियान

नयाँ दिल्ली / भारतमा राज्यद्धारा सञ्चालित भारतीय रेल सेवामा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा साकाहारी खानाको मात्रै व्यवस्था गरिने भएको छ ।

अहिंशाका प्रतिक मानिने गान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा रेल सेवाले पहिलो पटक साकाहारी खाद्यपदार्थ मात्रै दिने निर्णय गरेको हो । रेल सेवाले सबै क्षेत्रीय कार्यालयलाई जारी गरेको सूचनामा रेलभित्र साकाहारी खाद्यपदार्थ मात्रै विक्रि वितरण गर्न निर्देश गरिएको छ । गान्धीको जन्मजयन्ती मनाउने सिलसिलामा साकाहारी खाना मात्रै वितरण गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

देशका पिता मानिने महात्मागान्धी प्रति सम्मान गर्न र उहाँको आदर्शलाई सम्झनाका लागि रेलभित्र साकाहारी भोजनको व्यवस्था गरिएको रेल सेवाका प्रवक्ता सिद्धार्थ सिंहले सञ्चारकर्मीलाई बताउनुभयो । भारतको रेल सेवाको इतिहासका यस्तो निर्णय पहिलो पटक गरिएको पनि उहाँले शनिबार जानकारी दिनुभयो । आउदो अक्टोबर २ तारिखका दिन भारतीय रेल सेवाका सवै रेलमा साकाहारी भोजनको मात्रै व्यवस्था हुने निर्णय भएको प्रवक्ता सिंहले बताउनुभयो ।

भारतीय रेल सेवा विश्वकै सबैभन्दा ठूलो सञ्जाल भएको रेल सेवा मानिन्छ । यस अन्तर्गत झण्डै नौ हजार यात्रुबाहक रेल रहेका छन् भने दैनिक दूई करोड ३० लाख यात्रुलाई सेवा दिने गरेको छ । भारतीय रेल सेवासँग राज्यसँग जस्तै छुट्टै र आफ्नै सार्वजनिक व्यवसायीक प्रतिष्ठान रहेका छन् । यस्ले विद्यालय, अस्पताल, सुरक्षा सेवा र निर्माण कम्पनी चलाएको छ भने विश्वको सातौँ ठूलो रोजगारदाता कम्पनी पनि हो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्