साफ च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

ढाका  /  नेपाली फुटबल टोली साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइलनमा  पुगेको छ ।


सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए । सार्कसहित नेपालको यो १२ औं सस्करण हो ।

विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा गोल गरेका थिए । विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो । सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो ।

दोस्रो हाफको ८० औं मिनेटमा विमलले फेरी बल पोस्टभित्र छिराएपनि लाइन्सम्यानले झन्डा उठाएपछि रेफ्रीले उक्त गोल अफसाइड घोषित गरे । नेपालले खेलको अन्तिम समयमा अग्रता दोब्बर पारेको थियो । सुनील बलको थ्रु पासमा नवयुग श्रेष्ठले नेपालको लागि दोस्रो गोल गर्दै जित पक्का गरे ।

यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तान र बंगलादेशको पनि समान ६-६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो । नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो । तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडी भएपछि समूह विजेता बन्दै नेपाल अगाडी बढेको हो ।

 


प्रतिक्रिया दिनुहोस्