उत्तर कोरिया लगायत ५६ मुलुकका १५ सय विदेशीलाई नेपालमा काम गर्न श्रम स्वीकृति

काठमाडौ‌ भदौ २५, नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ। कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भएका छन् भने विदेशीले सजिलै श्रम स्वीकृति पाइरहेका छन्।

नेपालमा उत्पादन भएको दक्ष जनशक्तिलाई बेवास्ता गर्दै सामान्य कामका लागि समेत सरकार आफैले श्रम स्वीकृति दिएर विदेशीहरूलाई भित्र्याएको छ। यसले गर्दा नेपालमा उत्पादन भएको दक्ष जनशक्ति पलायन हुने क्रम बढ्दो छ भने तलबलगायतका शीर्षकमा अर्बौ रूपैयाँ धनराशी विदेशिएको छ।

श्रम विज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराईले विदेशी लगानीका कम्पनी÷उद्योगमा विज्ञमा विदेशीलाई श्रम स्वीकृति दिन सकिने बताए । ‘नेपालीले सिक्नु पर्ने र प्राविधिक दक्षता नभएका काममा विज्ञका रूपमा विदेशीलाई श्रम स्वीकृति दिन हुन्छ’, भट्टराईले भने, ‘नेपालीसँगै प्राविधिक दक्षता भएको विषयमा विदेशीलाई श्रम स्वीकृति दिन जरुरी छैन । नेपाली अहिले हरेक विधामा दक्ष भइसकेका छन्।’

विद्यालय तहका शिक्षकदेखि प्रोजेक्ट म्यानेजरसम्म विदेशीले श्रम स्वीकृति लिएका छन । शिक्षकमा हरेक विषयका दक्ष जनशक्ति नेपालमै प्रशस्तै पाइन्छन् । उपत्यकाका विभिन्न स्कुल र शैक्षिक संस्थामा विदेशी शिक्षकहरूले पढाइरहेका छन्। नेपालमा काम गर्न स्वीकृति लिनेमा संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लगाएको मुलुक उत्तर कोरियादेखि भारत, अमेरिका, फ्रान्स, बेलायत, चीनलगायत ५६ मुलुकका नागरिक छन् । प्राथमिक तहमा पढाउने शिक्षक इन्जिनियर, डाक्टरदेखि विभिन्न विदेशी परियोजनाका लागि ‘कन्ट्री डाइरेक्र’सम्मले श्रम स्वीकृति लिएका छन्।

श्रम विभागले गत असार ३ गते उत्तर कोरियाली नागरिकले संचालन गर्दै आएको तनहुँको दमौलीस्थित ने कोर्यो अस्पतालका लागि ४ जना उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति दिएको छ। नेपालमा प्रशस्त क्षमतावान चिकित्सकहरू हुँदाहुँदै उत्तर कोरियाली चिकित्सकलाई स्वीकृति दिइएको हो। अधिकांश चिनियाँ कम्पनीले पनि उत्तैबाट कर्मचारी ल्याउँछन् । चिनियाँ कम्पनी हुवायेले बंगलादेशी नागरिकलाई प्रोजेक्ट म्यानेजर पदमा ल्याएको छ । मेकानिकल इन्जिनियर, विडिङ स्पेसलिस्ट चीनबाटै ल्याएको छ । यी पदमा काम गर्न नेपाली नागरिक सक्षम छन्।

श्रम विभागले दिएको पछिल्लो तथ्यांकअनुुसार, विभिन्न विधामा विश्वका ५६ मुलुकका १५ सय ५६ जना विदेशीले श्रम स्वीकृति लिएर नेपालमा काम गर्दै आएका छन् । सबैभन्दा बढी १ हजार २१ जना चिनियाँ नागारिकले स्वीकृति लिएका छन्। बेलायतका १ सय ३७, अमेरिका र भारतका का ५०÷५०, पाकिस्तानका ४ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरियाका २० र जापानका २२ जनाले पनि विभिन्न विधामा श्रम स्वीकृति लिएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्