मोति जयन्तीमा साहित्यिक कार्यक्रम

अरुण पोस्ट समाचारदाता

ताप्लेजुङ, २५ भदौ  / ताप्लेजुङमा १५३ औँ मोती जयन्तीको अवसरमा आइतबार साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानको आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।

सदरमुकाम फुङ्लिङस्थित भिन्तुनाडाँडामा आयोजना गरिएको साहित्यिक कार्यक्रममा खुल्ला कविता तथा गजल प्रतियोगिता आयोजना गरिएको थियो । गजल विधाका पिताका रुपमा चिनिँदै आएका मोतिराम भट्टको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपाली साहित्यमा भट्टले पु¥याउनुभएको योगदानको समेत चर्चा गरिएको थियो ।
यता हाल हङ्कङमा बस्दै आउनुभएका ताप्लेजुङ फुङ्लिङका साहित्यकार तथा समाजसेवी चन्द्र मादेन ‘आन्छन्’ ले कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानमार्फत स्थापना गरिदिनुभएको तीन लाख रुपियाँ अक्षयकोषको ब्याज रकम खर्चिएर प्रतियोगिता कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत कविता विधातर्फ सीता ‘पिरती’ साँबा प्रथम, लक्ष्मी चुँडाल ‘धापे’ द्वितीय र मणि सेम्बू तृतीय हुनुभएको छ ।

यस्तै गजलतर्फ अज्ञान्ता ‘प्रज्ञा’ लिम्बू, होमनाथ दाहाल र नेत्र अविरल क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । दुवै विधाका विजेतालाई पूर्व–प्राज्ञ रविमान लम्जेलले उपहारसहित नगद पुरस्कार वितरण गर्नुभएको भट्टराईले बताउनुभयो । कवितातर्फ नौ र गजलतर्फ आठ जनाले प्रतियोगीले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा जिल्लाका अग्रज तथा नवोदित स्रष्टाहरुले प्रतियोगी र अप्रतियोगी आफ्ना सृजनाहरु वाचन गरेका थिए । कविता, गजल, मुक्तक लगायत विधाका रचनाहरु साथै लिम्बूभाषामा आधारित रचना र पालाम समेत स्रष्टाहरुले प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्