बिद्यार्थी भर्ना सुनिश्चित वडा घोषित

प्रयास लिम्बू

ताप्लेजुङ, २५ भदौ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ लाई बिद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा गरिएको छ । वडा कार्यालय र फुङ्लिङ नगरपालिका वडा नं. ५ मा रहेको शिक्षा विकास तथा समन्वय इकाईको स्रोत कार्यालयले बिद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा गरेका हुन् ।

वडाध्यक्ष भीमादेवी ओझाले बिद्यार्थी भर्ना अभियान सुनिश्चित भएको जिल्लाकै पहिलो वडाको रुपमा घोषणा गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । यो क्षेत्रको नियमन् गर्ने स्रोत शिक्षक दुर्गाप्रसाद पौडेलले फुनपा ५ भित्र पाँच देखि १२ वर्षभित्रका कुनैपनि बालबालिका बिद्यालय जानबाट बञ्चित नभएको र यो उमेर समूहका सबैजना बिद्यालयमा भर्ना भइसकेको पाइएकोले बिद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा गरिएको जानकारी दिनुभयो ।

यस वडामा रहेको एकमात्र पाथीभरा प्राथमिक बिद्यालयले पाँच देखि १२ वर्षभित्रका बालबालिका बिद्यालय भर्ना अभियानमा छुटे या नछुटेको बारेमा सर्वे गरेर प्रतिवेदन आएपछि मात्र बिद्यार्थी भर्ना अभियान सुनिश्चित भएको वडा घोषणा गरिएको वडाध्यक्ष ओझाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्