नेसन्स लिगमा आइसल्यान्ड ६-० ले पराजित

ज्युरीच / लिभरपुलमा यसै सिजन भित्रिएका मिडफिल्डर जेर्डान साकिरीले उत्कृष्ट प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिगअन्तर्गत समूह ए २ मा स्विटजरल्यान्डले आइसल्यान्डलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

साकिरीले एक गोल गर्नुका साथ दुई असिस्ट प्रदान गर्दा घरेलु टोलीले उत्कृष्ट सुरुआत गर्यो । स्टिभन जुबर र डेनिस जाकारियाले खेलको पहिलो हाफमा गोल गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए । साकिरीले ५२ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई ३-० ले अगाडी बढाए ।

हारिस सेफेरोभिचले ६७ औं मिनेटमा साकिरीको असिस्टमा चौथो गोल गरे भने अल्बियान अजेतीले ७१ औं मिनेटमा स्कोर ५-० पुर्याए । साकिरीकै सेट पिसमा आदमिर मेहेमेदीले ८२ औं मिनेटमा गोल गर्दै ६-० को फराकिलो जित दर्ता गरे । पछिल्लो समय ठूला प्रतियोगिताहरुमा विश्व फुटबलमा कहालिएका टोलीलाई समस्या दिंदै आएको आइसल्यान्ड आइतबार भने फिक्का देखियो ।

साकिरी यसै सिजनको ट्रान्सफर विन्डोमा १३ मिलियन पाउन्डमा लिभरपुल पुगेका हुन् । स्टोक रेलिगेसनमा परेपछि लिभरपुलले उनलाई खरिद गरेको हो । यद्यपी उनले प्रिमियर लिगमा अझै सुरुआती ११ मा खेल्न पाएका छैनन् ।

 – एजेन्सी/हाम्रो खेलकुद


प्रतिक्रिया दिनुहोस्