१० किलो अबैध सुन तस्करीका दुई अभियुक्त सार्वजनिक

गोरखा–२५, भदौ / अबैध १० किलो सुन तस्करीका दुई जना अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामत गरेकोे सुन सहित अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका बर्ष ५८ का मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका बर्ष २८ का लोप्चन तेन्वे रहेका छन् । गएको शनिवार जिल्लाको तिव्बतसंग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिम स्थित प्रहरीको चोकपोस्ट अगाडी चेकजाचँका क्रममा अबैध सुन सहित उनीहरु पक्राउ परेका थिए ।

ऊनिको गलबन्धी भित्र ५ किलो सुनराखी बाहिरबाट सिलाई कम्मरमा पेटी जस्तो बनाई ल्याएको अबस्थामा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामाको साथबाट थप कानमा लगाउने कन्दरा ७ तोला बराबरको २ थान, टप १ तोला बराबरको दुईथान समेत बरामत भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिनुभयो । त्यस्तै पक्राउ परेका तेन्वेले भने पछाडी बोक्ने रातो रङको झोलामा राखेर ल्याएको अबस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो । तिब्बतको जोङ्ग भन्ने स्थानबाट चिनजानका च्याङचिन भन्ने चिनियाँ नागरिकहरुले काठमाण्डौ पु¥याई दिनु भनी सुन पठाएको अभियुक्तहरुले बताएको प्रहरीको भनाई छ । ‘अभियुक्त २ जनाको फोन नम्बर राखी काठमाण्डौ जानु त्यहाँ पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनु भनेर सुन बोकाएर पठाएको पाईयो,’ प्रहरी प्रमुख बस्नेतले भन्नुभयो, ‘निजहरुलाई सुन पु¥याए बापत रु ५० हजार दिने सहमती रहेको बुझियो ।’

उनीहरुले चुमनुव्री गाउँपालिका वडा नम्बर ७ को सिर्दिबास स्थित स्यात्ला नाकाबाट हुदै तिव्बतबाट अबैध सुन भित्र्याएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो । गोरखाको चुमनुव्री गाउँपालिकामा सडक सन्जाल नजोडिएकाले हवाई मार्ग हुदै आवात–जावत गर्नुपर्ने भएपछि सो क्षेत्र हुदै तस्करी बढेको आंशकामा जिल्ला प्रसासन कार्यालयले केहीदिन अघि देखि कडाई गरेको थियो । प्रसासनको निर्णय अनुसार उत्तरी क्षेत्रमा उडान भर्ने सवै हेलिकप्टरहरुमा अनिबार्य चेकजाँज गर्न थालिएपछि सडकमार्ग हुदै तस्करी शुरु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।.दिपक श्रेष्ठ   (रासस)


प्रतिक्रिया दिनुहोस्