खानेपानी मन्त्री बिनाद्धारा जनताले परिवर्तनको अनुभुती हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं, २४ भदौं / खानेपानी मन्त्री बिना मगरले जनताले परिवर्तन अनुभुती गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । मन्त्रालयको कामहरु तुलनात्मक रुपमा सन्तोष जनक रहे पनि जारी गतिले लक्ष्यमा पुग्न नसकिने भन्दै मन्त्री मगरले कर्मचारीहरुलाई नयाँ गतिका साथ काम गर्न निर्देशन दिएकी हुन् ।


सोमबारदेखि खानेपानी मन्त्रालयमा सुरु भएको साप्ताहिक समिक्षा बैठकमा मन्त्रालयका बिभागीय प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री मगरले खानेपानी आयोजनाका कामहरुलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएकी हुन् । यो सातादेखि खानेपानी मन्त्रालयमा साप्ताहिक रुपमा प्रगति समिक्षा बैठक हुनेछ । बैठकमा साताभरी भएका कामहरुको समिक्षा गरिनेछ ।

मन्त्री मगरले वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भएकोले पुरानै ढंगबाट नभई नयाँ तरिकाले काम अघि बढाउन उनले निर्देशन दिइन् । भनिन्,‘जनताका गुनासो आउन दिनु भएन । परिवर्तन देखिने गरी अब नयाँ गतिका साथ काम गर्नुहोस् ।

आयोजना कामहरुमा समस्या भएमा सम्बन्धीत मन्त्रालयसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाई छ । काममा समस्या नहोस् भन्नका लागि अन्य मन्त्रालयहरुसँग पनि आफूले पहल गरेको उल्लेख गर्दै मन्त्री मगरले केही समस्या भए आफूलाई भन्न निर्देशन दिइन् । भनिन्, ‘कामको प्रगति के कसो भईरहेको छ रु कहाँ समस्या आईरहेको छ, मलाई निर्धक्क भएर भन्नुस् । म त्यसको समाधान निकाल्न पहल गर्छु ।’

बैठकमा मन्त्री मगरले मेलम्चीको काम समयमै सक्न निर्देशन दिइन् । मन्त्री मगरको चासोपछि सम्बन्धी विभागका कर्मचारीहरुले मेलम्ची आयोजनाको काम तीव्र गतिले अघि बढेको विभागीय कर्मचारीहरुले बताएका थिए । हरेक साता आयोजनाहरुको प्रगति समीक्षा बैठक हुने बताउदै मन्त्री मगरले त्यही अनुसारको तयारी गर्न पनि निर्देशन दिइन् ।

देशव्यापी रुपमा सुचना संकलन गरेर योजना केन्द्रीत गरिने

यसैबिच मन्त्री मगरको योजना अनुसार अब देशव्यापी रुपमा सुचना संकलन गरेर योजना केन्द्रीत रुपमा सञ्चालन गरिने भएको छ । आधा घन्टाभन्दा बढी समय लगाएर खानेपानी लिन जानुपर्ने समस्यालाई जटिल समस्याको रुपमा राखेर त्यसको तत्काल समाधान गरिने मन्त्री मगरले बताइन् ।

मन्त्रालयको योजना अनुसार आधा घन्टाभन्दा बढी समय लगाएर खानेपानी लिनु जानुपर्ने समस्या कहाँ कहाँ छ रु त्यो संकलन गरेर योजना केन्द्रीत गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्