पहिरोले पाँच परिवार विस्थापित

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, २५ भदौ  / आइतबार मध्य रातदेखि परेको अविरल वर्षाले ताप्लेजुङका बिभिन्न स्थानमा बितण्डा मच्चाएको छ । निरन्तरको वर्षापछिका कारण पहिरोले जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. २ ओखरे बस्तीका चार परिवार बिस्थापति भएका छन् भने अन्य चर घर परिवार जोखिममा परेका छन् ।

                                                    

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापामगरका अनुसार बिस्थापित भएका ओखरेका सन्तोष लिम्बू, केशब पौडेल, कुमार लिम्बू र साम्बे इजमका परिवारलाई सुरक्षित स्थानमा छिमेकी तथा आफन्त कहाँ स्थानान्तरण गरिएको छ । अन्य चन्द्र पौडेल, ओमकुमार लिम्बू, इन्द्रवीर कटुवाल र काजी कटुवालको घर जोखिममा रहेको प्रहरी निरीक्षक थापामगरले जानकारी दिनुभयो ।

पहिरोले पाथीभरा याङ्वरक २ कै खहरेकी कुन्ता राईको घरमा पनि क्षति पुर्याएको छ । छ जना सदस्य रहेको राईको परिवार हाल सोही घरमा बस्दै आएपनि करिव ५० हजार रुपियाँ मूल्य बराबर क्षति भएको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।  उता आठराई त्रिबेणी गाउँपालिका वडा नं. १ निघुरादिनस्थित नरकुमार गुरुङको परिवारलाई पनि पहिरोले बिस्थापित गराएको छ । गुरुङको परिवारलाई स्थानीय पूर्णप्रसाद सिटौलाको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरोले गुरुङको खेतबारी समेत बगाएको छ भने सिटौलाको २ रोपनी जग्गामा लगाएको अम्लिसो बगाउँदा गुरुङ र सिटौला दुवैको गरी अन्दाजी दुई–दुई लाख रुपियाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्