ताप्लेजुङ डान्स स्टारका लागि पाँचजना छनोट

प्रयास लिम्बू

ताप्लेजुङ, २५ भदौ  / नृत्य प्रतिभाको खोजी गर्ने उद्देश्यसहित गत साउनको पहिलो साताबाट सुरु गरिएको डान्स ताप्लेजुङ डान्सको अन्तिम प्रतिस्पर्धा (फाइनल) का लागि उत्कृष्ट पाँच जना छनोट भएका छन् ।

                  डान्स ताप्लेजुङ डान्सका लागि छनोट भएका पाँचजना नृत्यकार ।

ताप्लेजुङस्थित कुन्साङ डान्स सेन्टरले सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा विभिन्न चार चरण पार गर्दै पाँच जना नृत्यकार छनोट भएका हुन् । फाइनल प्रतिस्पर्धाका लागि छनोट हुनेमा रोजी लिम्बू, प्रवेश खतिवडा, प्रिती गुरुङ, आयुष लिम्बू र एलिना गुरुङ रहेका छन् । डान्स ताप्लेजुङ डान्सको सेमी फाइनल चरणबाट फाइनलमा छानिएकाहरुबाट अब बिजेता, उपविजेता (फस्ट रनर अप) र तृतीय (सेकेण्ड रनरअप) छानिने कुन्साङ डान्स सेन्टरका प्रवन्धक पेम्बा लामाले बताउनुभयो ।

लामाका अनुसार छनोटको सुरुमा ७२ जनाले सहभागिता जनाएका थिए । अब फाइनल चरणका लागि मिति तय भइनसके पनि चाँडै नै कार्यक्रम गर्ने तयारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आगामी प्रतियोगिताको फाइनलबाट डान्स स्टार बन्नेले ५० हजार रुपियाँ नगद पुरस्कार र फस्ट रनरअप तथा सेकेन्ड रनरअपले क्रमशः २० हजार र १० हजार रुपियाँ नगद पुरस्कारका साथ ट्रफी पाउनेछन् ।

 


प्रतिक्रिया दिनुहोस्