मेची राजमार्ग पाँच घण्टापछि खुल्यो

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, २५ भदौ  / आइतबार रातिदेखिको निरन्तरको वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मेची राजमार्ग पाँच घण्टापछि खुलेको छ । पाँचथरको काबेली–ताप्लेजुङ सडक खण्डअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्वरक–१ नाङ्खोल्याङको मेवाखामा माथिबाट पहिरो झरेर सडक अवरुद्ध बनेको थियो ।

                     सोमबार बिहान सडक माथिबाट मेची राजमार्गमा झरेको पहिरो ।

सोमबार बिहान करिव ४:३० बजेदेखि अवरुद्ध बनेको सडक नौ बजे पछिबाट मात्र सञ्चालन माएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मणबहादुर मगरका अनुसार सडक डिभिजन कार्यालय इलामको स्काभेटर (मेसिन) ल्याएर सडक अवरुद्ध खुलाइएको थियो । सोमबार पनि दिनैभर वर्षा जारी रहेकाले पहिरो अझै खस्ने सम्भावना रहेको प्रहरी निरीक्षक मगरले बताउनुभयो । सडक अवरुद्ध भइहालेमा पन्छाउनका लागि सडक डिभिजन कार्यालयको मेसिन र फुङ्लिङ नगरपालिकाको जेसीभीलाई पनि प्रयोग गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यता सडक अवरुद्ध हुँदा ताप्लेजङबाट पाँचथर, इलाम, झापा लगायतका स्थान र ग्रामीण क्षेत्रका लागि यात्रु लिएर छुटेका सवारी साधनहरु पाँच घण्टासम्म रोकिएका थिए । पहिरो झरेको ठाउँमा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने दर्जनौ सवारी साधन र त्यसमा सवार यात्रु अलपत्र परेका थिए । यस्तै निरन्तरको वर्षाले जिल्लाका अधिकांश ग्रामीण सडकहरु पनि अवरुद्ध बनेका प्रहरीले जनाएको छ । वर्षा अहिले पनि जारी रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्