गरिबलाई रेफरै रेफर, १२ हजारको हवाई टिकट लिएर उपचारमा आएका बिरामीको पनि रेफर

काठमाडौ‌ भदौ २६,/ चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन्। उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन्। पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको कुद्यै छन्। सुत्केरी बेथाले सिकिस्त ३३ वर्षीया ईश्वरीलाई डोर्‍याउँदै ६ घण्टा हिंडाएर उनले नाग्म ल्याए। नाग्मबाट गाडी चढाए।

घरबाट २३ कोस टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकसका साथ पुगेपछि ईश्वरीले त्यहाँ तीन केजीको छोरा जन्माइन्। भदौ २१ गते साँझ नयाँ सन्तानको आगमनमा खुशी भएको यो दम्पत्तिलाई अहिले उसैलाई कसरी बचाउने भन्ने पिरलो छ। सुरुमा यातायात असुविधाका कारण सास्ती झेलेका ईश्वरी र धनप्रसाद स्वास्थ्य सुविधा भएको ठाउँमा आएपछि भने अस्पतालको व्यवहारले दुःखी छन्। नवजात शिशुमा श्वासप्रश्वास समस्या देखिएपछि अस्पतालहरूले एक ठाउँबाट अर्को ठाउँमा रेफर गरिरहे। धनप्रसाद अस्पताल र चिकित्सकबाट पाएको सास्ती सुनाउन चाहँदैनन्।

‘सबै दुःख सुनाउँदा झन् अफ्ठेरो पो पर्ने हो कि’, डराई–डराई उनले भने, ‘छोरालाई कसैले नहेर्ने हो किरु’ साँझ जन्मिएको शिशुलाई राति एक बजे असजिलो भयो। चिकित्सकले श्वासप्रश्वास प्रक्रियामा अफ्ठेरो भएको भन्दै अन्यत्र लैजान रेफर गरे।  त्यसपछि उपचारका लागि रकम जुटाउने कि जहाजको टिकट खोज्ने भन्ने संकट आइलाग्यो। धनप्रसादले एघार हजारभन्दा बढी खर्च गरी गोमा एयरलाइन्सबाट नेपालगन्ज राँझा विमानस्थल झारे। काठमाडौं लैजान जहाजको टिकट पाइएन।

त्यसपछि उनले एम्बुलेन्सद्वारा झन्डै १२ किलोमिटर टाढाको कोहलपुर मेडिकल कलेजमा दौडाए। त्यहाँ एक दिन एक रात राखे। ‘यहाँ उपचार गर्न महँगो पर्छ, तपार्इंको आर्थिक अवस्था के छरु’ भन्दै चिकित्सकले प्रश्न गरेपछि उनी अन्यौलमा परे। अस्पताललाई दश हजार बुझाए। जुम्लाका स्थानीय कांग्रेस नेतालाई फोन गरेर उपचारका लागि व्यवस्था मिलाइदिन आग्रह गरे। ती नेताले कान्ति बाल अस्पतालका निर्देशक डा।गणेशकुमार राईलाई फोन गरे।

डा।राईले पठाउन भनेपछि धनप्रसादले १२ हजारभन्दा बढी खर्चेर जहाजको टिकट लिए। पत्नीसहित नवजात शिशु लिएर जहाजबाट सोमबार मध्यान्ह उनी काठमाडौं आए। पर्याप्त अक्सिजन नभएकाले जहाजमा शिशु आकुलव्याकुल थियो। उनले हेरिरहे, भगवानको पुकारा गरे। एक बजेतिर शिशु लिएर उपाध्याय दम्पत्ति कान्ति बाल अस्पताल पुग्यो। चिकित्सकले आपतकालीन कक्षमा राखे। जाँचेपछि चिकित्सकले भने, ‘एनआईसीयूमा राखेर उपचार गराउनुपर्छ। यहाँ फुलप्याक छ। अन्यत्रै लैजानुस्।’

त्यसपछि धनप्रसादले उपचार गर्न नपाएकोमा गुनासो गर्दै अस्पतालका निर्देशक डा।राईलाई भेटे। राईले आपतकालीन कक्षका चिकित्सकलाई फोन गरेर हेर्न आग्रह गरे। तर, आपतकालीन कक्षका चिकित्सकले एनआईसीयू शैय्या नभएको जनाउँदै रिफर गर्न उनलाई पटकपटक भनिरहे।

‘एनआईसीयूमा रहेको अन्य अस्पतालमा लगेर उपचार गराउनुस्। त्यसो गर्न सक्नु हुन्न भने अहिले जसरी उपचार भइरहेको छ त्यसैमा सहमत छु भनेर कागज गर्नुस्’, चिकित्सकले धनप्रसादलाई भने। किसान पृष्ठभूमिका धनप्रसादले आफू गरिब भएको जनाउँदै अन्यत्र लगेनन्। सोमबार साँझदेखि भने कान्ति अस्पतालले बच्चाको उपचारमा विशेष ख्याल पुर्‍याउन थालेको उनले बताए।

‘बच्चा हाम्रो जिम्मामा आइपुगेको छ, हामीले उनको निःशुल्क उपचार गर्छौं’, डा। राईले भने, ‘तर, यत्तिको बिरामीलाई कान्तिमा पठाइरहनुपर्थेन। उनको उपचार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोहलपुर मेडिकल कलेजमै हुन सक्थ्यो।’ मुलुकको एकमात्र केन्द्रीय बाल अस्पतालमा ल्याएका बिरामीमध्ये ९ जनालाई कान्तिले आइतबार शैय्या नभएको जनाउँदै अन्यत्रै रेफर गर्‍यो। निर्देशक डा। राई र अस्पताल विकास समितिका अध्यक्ष सुबोधराज आचार्यको साथ पाएकाले उनले आपतकालीन कक्षका चिकित्सकको भनाइ सुनेनन्।

‘अचेल त सामान्य लाग्न थालिसक्यो, निजी अस्पताल र नर्सिङहोमले यहाँ रेफर गर्छन्। बेड नभएपछि हामीले अन्यत्र रेफर गर्र्छौँ’, डा।राईले भने। आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्