अफगानिस्तानमा आत्मघाती बम आक्रमण, कम्तीमा ६८ जनाको मृत्यु

 बीबीसी / पूर्वी अफगानिस्तानमा गरिएको एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानसँगै जोडिएको नान्गरहार प्रान्तमा आत्मघाती आक्रमणकारीले स्थानीय प्रहरी प्रमुखको विरोध गरिरहेका मानिसहरूको समूहलाई निशाना बनाएको बताइन्छ।

EPA

मङ्गलवार भएको सो आक्रमणमा मृत्यु भएकाहरूको सङ्ख्या बढेर त्यति पुगेको हो। सो घटनामा घाइते भएका १६५ जनालाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ।
अफगानिस्तानमा केही समययता गरिएका आक्रमणहरूमा सयौँ जनाको मृत्यु भएको छ। त्यहाँ आउँदो अक्टुबर महिनामा निर्वाचन गरिँदैछ।
मङ्गलवार गरिएको आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन। तर सो क्षेत्रमा लडाकु समूह इस्लामिक स्टेट सक्रिय रहेको छ।

यसअघि सोही प्रान्तमा भएका अरू दुई बम आक्रमणमा पाँच जना घाइते भएका थिए। अधिकारीहरूले संसदीय निर्वाचन नजिकिँदै गर्दा यस्ता आक्रमणहरू बढ्न सक्ने चेतावनी दिएका छन्। तालिबानसँग हुँदै आएको लामो सङ्घर्ष टुङ्ग्याउन कूटनीतिक पहल गरिँदै गर्दा हिंसात्मक घटनाहरू बढेका छन्।

EPA

यही हप्ता विभिन्न चार प्रान्तमा भएका सङ्घर्षमा दर्जनौँ सुरक्षाक्रमी र तालिबान लडाकुहरू मारिएका छन्।
सरकारी फौजले केही स्थानमा भएका सङ्घर्षहरूमा तालिबानसँग हार बेहोरेको छ। गत अगस्ट महिनामा तालिबान लडाकुहरूले गज्नीमा आक्रमण गरेर सो महत्त्वपूर्ण सहरलाई आफ्नो नियन्त्रणमा लिएका थिए।
सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्यले तालिबानलाई सत्ताबाट धपाएपछि भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ। अफगानिस्तानलाई सघाउन खटिएका विदेशी सेनाहरूले सन् २०१४ मा अफगानिस्तान छाडेका थिए।

त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्ने उद्देश्य राखेको देखिन्छ। विगतमा आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू पुनस् कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरिरहेका छन्। सात महिनाअघि प्रकाशित बीबीसीको अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ।

अफगानिस्तानमा इस्लामिक स्टेट लडाकु समूह पनि सक्रिय छ। गत महिना काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम आक्रमण आफूले गराएको उसको दाबी छ। सो आक्रमणमा विश्वविद्यालयको प्रवेशपरीक्षाका लागि तयारी गरिराखेका विद्यार्थीहरूसहित ४८ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्