इटहरी उपमहानगरबारे मोवाइलबाटै संसारभरबाट थाहा पाउन सकिने

अरुणपोष्ट सम्वाददाता

सुनसरी २९ भदौ, /  हरित नगर सुनसरीको इटहरी उपमहानगरबारे संसारभरबाट मोवाइलमै थाहा पाउन सकिने भएको छ । चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत नगरका सवै तथ्यांक र जानकारी डिजिटल प्रोफाइल र मोवाइल एप बाटै हेर्न सकिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन ।

डिजिटल नगर प्रोफाइल र एप वनाउनका लागि कार्य योजना तथा तयारी वैठक सम्पन्न सगै डिजिटल प्रोफाइल र मोवाइल एप बनाउने प्रक्रिया सुरु भइसकेको छ । निर्माणकार्यमा जुटेको संस्था दिगो विकास तथा शान्ति प्रवर्द्घन केन्द्रका अनुसार अनलाइन र अफलाइनबाट हेर्न सकिने छ । प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी पारिवारिक विवरण जसमा घरका सबै सदस्यको नामथर, जन्ममिति, जात, धर्म, मातृभाषा, शैक्षिक अवस्था, बसोवास घरमै हो कि बाहिर बसोवासको अवस्था, पेशा, बैवाहिक अवस्था, अपाङ्गताको अवस्था, शैक्षिक स्थिति लगायत समेटिने छ ।

त्यसैगरी घरमूलीको सम्पर्क नम्बर, बालश्रमिक राखेको छ कि छैन, एक वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सो सहितको जानकारी, स्वास्थ्य र ब्यक्तिगत बीमा गरिएको छ कि छैन ती सवै जानकारी राखिनेछ । यस्तै, घरको जीपीएस नम्बरसहित कुन रोड र वस्तिमा छ सो पनि जानकारी हुने छ । तथ्यांक संकलनका लागि ६१ जना गणकहरु एप र जीपीएस चल्ने मोवाइल वोकेर इटहरीका प्रत्येक घर पुग्ने छन । उनीहरुले डिजिटल प्रविधि मार्फतनै तथ्यांक संकलन गर्ने छन् । उनीहरु प्रत्येक घर पुगे पुगेनन जीपीएस प्रविधिमार्फत थाहा हुने छ । गणकहरुले असोज महिना भित्रमा तथ्यांक संकलन गरी सक्नेछन् ।

नगरप्रोफाइलमा नगरपालिकाको चिनारी, जनसंख्याको सबै पक्ष समेटिएको बिस्तृत जानकारी, आर्थिक बिबरण, भूउपयोग तथा स्वामित्वको अवस्था, कृषि तथा पशु विकासको अवस्था, पर्यटन, औद्योगिक विकास, सहकारी, ब्यापार तथा ब्यवसाय सम्बन्धी जानकारी समेटिने छ । यसैगरी बैंक तथा वित्तीय संस्था, शैक्षिक तथा मानव संसाधन विकास, स्वास्थ्य तथा पोषणको अवस्था, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरणको अवस्था, संचारप्रविधि, आवास तथा भवन समेटिने छ ।

यस्तै संस्थागत तथा सुशासनको स्थितिका साथमा ऐन नीति नियम र कार्यप्रणाली राखिने छ । इटहरीका मेयर द्वारिकलाल चौधरी नगर प्रोफाइल इटहरीको विकास र सम्वृद्धिका लागि पहिलो खुडकिलो हुने जानकारी दिए । इटहरीलाई कस्तो बनाउने रणनीतिक योजना वनाउन नगर प्रोफाइल नभइ नहुने उनको भनाई छ । उपमेयर तथा प्रवक्ता लक्ष्मी गौतमले वैज्ञानिक तवरले योजना संचालन गर्न नगर प्रोफाइल विना ब्यवहारिक नहुने भएकाले यो अत्यन्तै जरुरी रहेको वताइन् । करलाई वैज्ञानिक र ब्यवस्थित वनाउन पनि नगर प्रोफाइलले सहयोग गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्