पाथीभरा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आउने दर्शनार्थीको सुविधाका लागि पाथीभरा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पाथीभराको दर्शनमा जाने र दर्शनपछि फर्कने तीर्थालुलाई लक्षित गरी पाथीभरा क्षेत्रको काफ्लेपाटीमा सार्वजनिक शौचालय निर्माण गरिएको हो ।


फुङ्लिङ नगरपालिका कार्यालयले स्थानीय उपभोक्ताको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गरिएको र शौचालयको शुक्रबार उद्घाटन गरिएको छ । फुङ्लिङ नगरपालिका र नेपाल पर्यटन बोर्डको १० लाख, पाथीभरा क्षेत्र विकास समितिको सात र स्थानीय जनश्रमदान समेत कुल १९ लाख ४५ हजार ३०७ रुपियाँको लागतमा निर्माण भएको शौचालयको फुङ्लिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई (तारा) र प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

शौचालयको उद्घाटनपछि आयोजित कार्यक्रममा नगर प्रमुख प्याकुरेलले यसको व्यवस्थापनको दायित्व अब काफ्लेपाटीमा बसोबास गर्ने समुदायको रहने भन्दै शौचालय प्रयोग गरेबापत सीमित शुल्क लगाएर सङ्कलन हुने शुल्कले शौचालयको नियमित सरसफाई, रेखदेख र मर्मतसम्भारको काम गर्नुपर्ने बताउनुभयो । नियमित सरसफाई र संरक्षण हुन सकेमा मात्र सार्वजनिक शौचालयलाई लामो सयमसम्म प्रयोग गर्न सकिने प्याकुरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले पाथीभरा दर्शनको मुख्य सिजन सुरु हुन लागेकाले नवनिर्मित सार्वजनिक शौचालयले तीर्थालुलाई सुविधा पुग्ने विश्वास लिनुभयो । महिलाका लागि दुई र पुरुषका लागि दुई गरी चार कोठे सार्वजनिक शौचालय निर्माण गरिएको हो । हाल सदरमुकाम फुङ्लिङदेखि काफ्लेपाटीसम्म पाथीभरा मार्गको ट्रयाक खुलिसकेको र सोही स्थानसम्म यातायात सेवासमेत सञ्चालन हँुुदै आएको छ । काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म पैदल यात्रा गर्नुपर्ने र मन्दिर पुग्नलाई करिव दुई घण्टा बढी समय लाग्दछ ।

 


प्रतिक्रिया दिनुहोस्