निर्मला हत्या प्रकरणः तीन टोली खटिए पनि अनुसन्धान जहाँको त्यहीँ,

काठमाडौ‌ भदौ ३०. / निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा खटिएको प्रहरी टोली अझै अलमलमै देखिन्छ।
तत्कालीन एसपी डिल्ली विष्टसहितका अधिकारीलाई काठमाडौं झिकाएपछि आएका नयाँ एसपी कुबेर कडायतको टोलीले पनि अनुसन्धानमा खासै प्रगति गर्न सकेको छैन। जिल्लामा हाजिर भएको दोस्रो दिन प्रारम्भिक चरणबाटै अनुसन्धान सुरु गरेको जानकारी दिएका एसपी कडायतले अनुसन्धानमा खासै प्रगति हुन नसकेको बताएका छन ।

भदौ ८ गते जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले ‘अनुसन्धान गर्ने माहोल बनाइदिए प्रहरीले काम गरेर देखाउने’ बताएका थिए। तर उनले भनेजस्तो प्रगति नदेखिएको नागरिक समाजका अगुवा बताउँछन्। ‘दुई जनाको रगतको नमुना डीएनए परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘हामी अनुसन्धानमै छौं, देखिने उपलब्धि भएको छैन।’

कडायतका अनुसार तत्कालीन एसपी विष्टका छोरा किरण र आयुष विष्टको डीएनए परीक्षणका लागि नमुना पठाइएको हो । ‘उनीहरूलाई हामीले निगरानीमा राखेका छौं,’ उनले भने, ‘थप कोही शंकास्पद देखिए उनीहरूको पनि नमुना संकलन गरिनेछ।’ उनीहरूसँगै तत्कालीन एसपी विष्टको पनि डीएनए परीक्षणका लागि नमुना लिइएको छ। घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र प्रहरी हेडक्वार्टरको टोलीसमेत खटिएको छ । सीआईबीको टोली दुई सातादेखि यहीँ छ।

हेडक्वार्टरको टोली भर्खरै आएको हो । ‘जति टोली आए पनि अनुसन्धान जिल्ला प्रहरी कार्यालयले नै गर्ने हो,’ कडायतले भने, ‘अन्य टोली हामीलाई सघाउन आएका हुन्।’ प्रहरीले अहिले पनि शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गर्ने र सूचना संकलनकै काम गरिरहेको छ। करिब डेढ सय बढीसँग आवश्यक सोधपुछ गरिसकिएको एसपी कडायतले जानकारी दिए।

प्रहरीले यसअघि सार्वजनिक गरिएका दिलीप विष्टलाई दुई दिनअघि डीएनए रिपोर्ट मेल नभएर छाडेपछि अनुसन्धान साँघुरिँदै गएको बताए पनि अपराधी नजिक भने पुग्न नसकेको स्रोतले जनाएको छ । नयाँ एसपी र डीएसपी आएको २३ दिन भइसक्यो तर अनुसन्धानमा प्रगति देखिएको छैन।

नागरिक समाजको बैठकले बिहीबार घटना अनुसन्धानका लागि दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । ज्ञापनपत्र दिने, छलफल तथा अन्तक्रिया गर्ने र भेटघाट गरेर दबाब दिनेलगायत कार्यक्रम गरेको छ। यसैगरी घटना भएकै दिनदेखि आन्दोलनमा उत्रिएका महिला पुनः आन्दोलित बनेका छन् । उनीहरूले तीजका दिनदेखि आन्दोलन सुरु गरेका हुन्। । आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्टले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्