वडाध्यक्षलाई नागरिकता सिफारिस प्रक्रिया सिकाइँदै

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ३० भदौ /  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता वितरण प्रक्रियामा समस्या नहोस् भन्ने उद्देश्यले नागरिकता सिफारिस प्रक्रियाका न्यूनतम् सर्तका बारेमा वडा तहलाई जानकारी गराएको छ । जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतमार्फत वडाध्यक्षलाई प्रशासन कार्यालयले नागरिकता सिफारिस प्रक्रियाबारे सिकाउन थालेको हो ।  नागरिकता सिफारिस कर्तालाई समेत छक्याएर भरिने झुटा विवरणका आधारमा नागरिकता बितरण पनि झुटो नहोस् भनेर सिफारिस प्रक्रियाबारे वडध्यक्षहरुलाई जानकारी गराउन थालेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।

प्रजिअ अण्डारीका अनुसार नागरिकता अनुसूचीमा सिफारिस गर्दा नै उपलब्ध भएसम्म बाबु/आमा दुवैलाई उपस्थित गराउने तर, बाबु अनिवार्य उपस्थित रहनुपर्ने हुन्छ । बाबुको मृत्यु भइसकेको अवस्थामा भने निजको मृत्यु दर्ता कागज राखेर आमाको सनाखतबाट नागरिकता बितरण गर्न सकिने कानुनी व्यवस्था रहेको भण्डारीले बताउनुभयो । उहाँका अनुसार बाबुको मृत्यु भइसकेको अवस्थामा निजहरुको मृत्यु दर्ता प्रमाणपत्र राखेर दाजु, काका, बडाबाबु समेतको सनाखतमा नागरिकता बितरण गर्न सकिन्छ । यिनै व्यवस्था वा प्रक्रियाबारे वडाध्यक्षहरुलाई अवगत गराउन थालिएको उहाँको भनाइ छ ।

प्रजिअ भण्डारीले आमा/बाबुको नागरिकता रहेको हकमा निजको तीन पुस्ते नाताभित्रका कोही नरहेको अवस्थामा भने प्रहरी सर्जमिन तथा सम्बन्धित स्थानीय तहको वडाध्यक्षको सनाखतमा पनि नागरिकता प्रवाह गर्न सकिने जानकारी दिनुभयो । आफ्नो कार्यकाल भन्दा पहिले पनि वडाबाट नागरिकताका लागि प्रशासन कार्यालयमा पुगेका कतिपय सिफारिसहरु शंकास्पद रहेको जानकारी आपूmले पाएकोले नागरिकता सिफारिस विधि र प्रक्रियाका बारेमा वडा तहलाई सहजीकरणको आवश्यकता महशुस गरी जानकारी गराउन थालेको उहाँले बताउनुभयो ।

नागरिकताको सिफारिस सम्बन्धित स्थानीय तहको सिफारिसवाला व्यक्ति बसोबास गर्ने वडाको वडाध्यक्षले गर्ने प्रावधान छ । वडाध्यक्ष नभएको अवस्थामा निजले सिफारिसका लागि लिखित अख्तियारी प्रदान गरेको सम्बन्धित वडाको जनप्रतिनिधि समेतले सिफारिसको अधिकार पाउनेछन् । तर, यस्तो अवस्थामा वडाध्यक्षले दिएको लिखित अख्तियारी पत्रको प्रतिलिपि वा अख्तियारी दिएको जानकारी जिल्ला प्रशासन कार्यालयमा अनिवार्य हुनुपर्दछ ।

नागरिकता सिफारिसमा गम्भीर त्रुटी फेला परेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले छ जना वडाध्यक्षसँग सिफारिस प्रक्रियाको सत्यताका लागि बयानै लिनुपरेको भन्दै गम्भीर भई दिन आग्रह गर्नुभएको थियो । “झुटो सिफारिस र झुटो विवरणका आधारमा गलत व्यक्तिले नागरिकता पाउनु हँुदैन भन्ने मनशायले सम्बन्धित वडाध्यक्षहरुको सहजताका लागि सिफारिस पद्धतिको न्यूनतम् सर्तबारे जानकारी गराइएको हो” प्रजिअ भण्डारीले भन्नुभयो ।

यता स्थानीय तहका प्रमुख/अध्यक्षहरुले भने कानुनी र व्यवहारिक दुवै बिषयलाई हेरेर नागरिकता बितरण कार्यलाई प्रभावकारी बनाउन प्रजिअ भण्डारीसमक्ष आग्रह गरेका छन् । फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले कानुनी दृष्टिकोणका न्यूनतम् सर्त पूरा भएको अवस्थामा केही व्यवहारिक बिषयलाई छुट गर्न जिल्ला प्रशासन कार्यालयले तत्परता देखाउनुपर्ने बताउनुभयो । “बाबु यहिँ छ, तर उ आफ्नो छोराको नागरिकतामा सनाखत गरिदिन तयार छैन, यो अवस्थामा बाबुले छोराको नागरिकता बनाई दिनमा गरेको कञ्जुस्याँइलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा आमाबाट नागरिकता पाउनसक्ने व्यवस्था मिलाउनुपर्छ” नगर प्रमुख प्याकुरेलले भन्नुभयो ।

आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले झुटो विवरण सिफारिस गर्दा हुने क्षतिका बारेमा जनप्रतिनिधि सजग रहनुपर्ने तर वास्तविक सिफारिस आएको अवस्थामा जनप्रतिनिधिलाई समेत विश्वास गरेर नागरिकता बितरणमा प्रशासन कार्यालयले सहजीकरण गरी दिनुपर्ने बताउनुभयो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले भौगोलिक हिसाबले हुने दुर्गमताका आधार मानेर सिफारिसमा कुनै समस्या आए प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तह/वडासँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । एभेङले नागरिकता बितरणमा न्यूनतम् कानुनी सर्त मान्दै अधिकतम् व्यवहारिक पक्षलाई हेर्न प्रशासन कार्यालयको ध्यानाकर्षण गराउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्