संविधान दिवस मनाउन समिति गठन

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ३०  भदौ / ताप्लेजुङमा संविधान दिवस २०७५ मनाउनका लागि समिति गठन गरिएको छ । यहि असोज २, ३ र ४ गते तीन दिनसम्म भव्य रुपमा संविधान दिवस मनाउनका लागि जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो ।

समन्वय समिति प्रमुख मादेनकै अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उहाँको संयोजकत्वमा फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सदस्य रहनेगरी समिति गठन गरेको हो । यस्तै समितिमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, केही गैरसरकारी कार्यालयका प्रमुख, उद्योग बाणिज्य सङ्घ, पत्रकार महासङ्घ लगायत निकायका प्रमुख वा प्रतिनिधि सदस्य रहने छन् ।

आउँदो बुधबार अर्थात असोज ३ गते संविधान दिवसका दिन बिहान ७ बजे फुङ्लिङबजारमा प्रभातफेरीसँगै नगर सरसफाई गर्ने निर्णय भएको छ भने दिउँसो जिल्ला समन्वय समितिको सभाहलमा कर्मचारी मिलन केन्द्रको आयोजनामा खुल्ला हाजिरी जवाफ प्रतियोगिता गरिने भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसका अघिल्लो दिन र पछिल्लो दिनसमेत तीन सबै सरकारी कार्यालयहरुमा दीपावली गरिने भएको छ । दिवसका अवसरमा फुङ्लिङ बजारबासीलाई समेत तीन दिनसम्म दीपावली गर्न आग्रह गरिने उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्