अरुण उपत्यका क्षेत्रमा योगमाया आयुर्वेद विश्वविद्यालय

भोजपुर  / योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमानै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले जानकारी दिनुभयो ।

योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारी निर्णय भएपनि योगमायाको तपोभूमि र कर्मक्षेत्रभन्दा बाहिर लैजाने हल्ला हुन थालेपछि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले संयुक्तरुपमा केन्द्रलाई दबाब दिने निर्णय गरेका हुन् । बैठकमा भोजपुरको तर्फबाट षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, उपप्रमुख मेरिका राई, पूर्वसांसद नरेन्द्र बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो ।

सङ्खुवासभाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो । रासस


प्रतिक्रिया दिनुहोस्