३६ नेपालीद्वारा जापानको फुजी आरोहण

काठमाडौँ / जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् ।

तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ । नेपाली समुदायलाई जापानको हिमाल चढाएर त्यहाँको वास्तविकता अनुभव गराउने र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

आरोहणमा २८ पुरुष र आठ महिला गरी ३६ जना नेपाली तथा दुई जापानी नागरिकको सहभागिता थियो । सहभागी ३८ जनाले नै सफलतापूर्वक फुजी हिमाल आरोहण गरेका हुन् । जापानी समयअनुसार शनिबार राति १२ बजेर ३० मिनेटमा आरोहण शुरु भएको थियो । समूहले आइतबार दिउँसो सफलतापूर्वक आरोहण गरेको हो । आरोहणको पथप्रदर्शकका रूपमा जापान नेपाल सोसाइटीका निर्देशक ओकुरा योसितोमी सहभागी हुनुहुन्थ्यो । उहाँले सगरमाथा एकपटक आरोहण गरिसक्नुभएको छ ।

जापान नेपाल सोसाइटीका अर्का निर्देशक शरदकुमार गौचनले कार्यकमको संयोजन गर्नुभएको थियो । उहाँले लामो समयदेखि जापानमा विभिन्न हिमाल आरोहण गर्दै आउनुभएको छ । जापानमा करीब ८५ हजार नेपाली बसोबास गर्दै आएका छन् । ३६ जना नेपालीको समूहले पहिलो पटक जापानको अग्लो फुजी हिमाल आरोहण गरी विश्व रेकर्ड कायम गरेका हुन् ।

आरोहण गर्ने सदस्यमा जापानस्थित अन्तर्राष्ट्रिय अधिवक्ता एवं जापान नेपाल सोसाइटीका निर्देशक डा बलराम श्रेष्ठ, अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर विक, जुनतेंदो विश्वविद्यालयका प्राध्यापक डा लक्ष्मीकुमार पराजुली, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, किराँत राई योयोक्खा जापानका पूर्वअध्यक्ष रमेश राई, नेपाल आइटी भेन्चरका कार्यकारी निर्देशक कमल अधिकारी, किराँत याक्थुङ्चुम्लुङ समाजका पूर्वअध्यक्ष रिद्धि तुम्वाहाम्फेलगायत विभिन्न क्षेत्रमा योगदान दिनुहुने महानुभावको सहभगिता थियो ।


प्रतिक्रिया दिनुहोस्