१० दिनमै २ पटक पेट्रोलियम पदार्थको मूल्य वढ्यो

काठमाडौ‌ असोज २,
दश दिन नवित्दै सरकारले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य ३–३ रुपैयाँ इन्धनको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली बजारमा इन्धनको मूल्य बृद्धि गर्नु परेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशन शुशील भट्टराईले बताएका छन।

मूल्य वढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजल तथा मटीतेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। ग्याँस र हवाई इन्धनको मूल्य भने वढाइएको छैन। स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको आयल निगमले जनाएको छ। समायोजित मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा बृद्धि भएको हो।

आइतबार भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य अनुसार १ अर्ब ३ करोड मूल्य घाटा हुने देखिएकाले इन्धनको मुल्य बृद्धि गरिएको आयल निगमका निमित्त कार्यकारी निर्देशन शुशील भट्टराईले दावी गरेका छन ।

पुरानो मूल्य अनुसार आयल निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ। भट्टराईका अनुसार मूल्य वढाएपछि पनि निगमलाई मासिक नोक्सान ५० करोड भन्दा धेरै छ।


प्रतिक्रिया दिनुहोस्