बार्सिलोना विरुद्ध पीएसभी – खेलको सम्पूर्ण जानकारी

एजेन्सी / युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ अन्तर्गत आज राती बार्सिलोना र पीएसभी खेल्दैछन् । खेल नेपाली समयअनुसार रातको १२:४० मा सुरु हुनेछ ।

बार्सिलोना र पीएसभी पहिलो पटक औपचारिक खेलमा आमनेसामने हुँदैछन् । बार्सिलोनाले स्पेनिस लिग अन्तर्गत शनिबार रियल सोसीडाडलाई २-१ ले पराजित गर्दै राम्रो लय समातेको छ । पीएसभीले भने डच लिगको खेलमा अदो देन हागलाई ७-० ले पछाडी पारेको थियो । च्याम्पियन्स लिगमा गत सिजन क्वाटरफाइनलमा रोकिएको बार्सिलोना यसपटक अझै पर पुग्ने लक्ष्यसहित उत्रिएको छ ।

बार्सिलोनाका लागि मिडफिल्डर फिलिपे कोउटिन्होले आज च्याम्पियन्स लिगमा डेब्यु गर्नेछन् । गत सिजन जनवरीमा लिभरपुल छाडेर बार्सिलोना आएपनि उनले च्याम्पियन्स लिगमा भने खेल्न पाएका थिएनन् । बार्सिलोनाका लागि डेनिस सुआरेज चोट लागेका कारण उपलब्ध हुने छैनन् । यस्तै सर्जी साम्पर र माल्कम भने पूर्ण फिट नभएका कारण नखेल्ने सम्भावना छ ।

पीएसभीले चोटका कारण रायन थोमस, म्याक्सीमिलियन रोमेरो र डान्ते रिगोको साथ पाउनेछैन । यद्यपि बार्सिलोनाविरुद्ध बलियो टोली उतार्न भने पीएसभी सक्षम छ । रुसमा सम्पन्न विश्वकपमा मेक्सिकोका लागि जादुमयी प्रदर्शन गरेका हर्भीङ लोजानो आफ्नो उच्च लय कायम राख्ने सुरमा हुनेछन् ।

सम्भावित सुरुआती ११

बार्सिलोना:

मार्क आन्देर टेर स्टेगन

सर्जी रोबर्टो – जेरार्ड पिके – स्यामुएल उम्टिटी – जोर्डी अल्बा

फिलिपे कोउटिन्हो – सर्जियो बुस्केट्स – इभान राकीटिच

लिओनेल मेसी – लुइस सुआरेज – ओस्मान डेम्बेले

पीएसभी:

जोरिएन जोएट

देन्जेल दम्फ्रिज – ड्यानीएल स्वाब – निक भिएरगभर – एन्जेलिनो

पाब्लो रोजारियो – जोरिट हेन्डरिक्स

स्टिभन बर्गविजन – गास्टोन परेइरो – हर्भीङ लोजानो

लुक डे जोङ


प्रतिक्रिया दिनुहोस्