च्याम्पियन्स लिगमा मेसीको ह्याट्रिकसँगै रोनाल्डोलाई उछिने

बार्सिलोना /  मंगलबार  सिजनको पहिलो च्याम्पियन्स लिग खेलमा   बार्सिलोनालाई जित दिलाउने क्रममा लिओनेल मेसीले ह्याट्रिक  गरे । पहिलो हाफमा फ्रिकिकमार्फत गोल गरेका उनले दोस्रो हाफमा दुई उत्कृष्ट फिनिस गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

च्याम्पियन्स लिग इतिहासमा मेसीको यो आठौँ ह्याट्रिक पनि थियो । यस ह्याट्रिकसँगै मेसीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने सुचिमा रोनाल्डोलाई उछिनेका छन् । पोर्चुगिज स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा ७ पटक ह्याट्रिक गरेका छन् । मेसी र रोनाल्डो यस खेलअघि बराबर रहेपनि मेसीले तेस्रो पटक समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गर्दै उक्त रेकर्डमा आफ्नो नाम कायम गरे । रोनाल्डो र मेसीपछि तीन खेलाडीले ३-३ पटक ह्याट्रिक प्रहार गरेको तथ्यांक छ । तीन ह्याट्रिक प्रहार गर्नेमा मारियो गोमेज, लुइज आद्रियानो र फिलिप्पो इन्जाघी रहेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोले बुधबार नै युभेन्ट्सका लागि डेब्यु गर्दैछन् । रोनाल्डोले पछिल्लो सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै रियल म्याड्रिडलाई उपाधि दिलाएका थिए । पछिल्लो ५ सिजनमध्य रोनाल्डोले ४ पटक उपाधि नै जितेका छन् । यसपटक पनि उनी टोलीलाई उपाधि दिलाउँदै गोल्डेन बुट हात पार्ने सुरमा हुनेछन् । त्यसका लागि रोनाल्डोसामु ह्याट्रिक प्रहार गर्दै मेसीसँग कीर्तिमान नै बराबरी गर्ने अवसर पनि छ ।

च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक-

लिओनेल मेसी – ८ ह्याट्रिक

क्रिस्टियानो रोनाल्डो – ७ ह्याट्रिक

मारियो गोमेज, फिलिप्पो इन्जाघी र लुइज आद्रियानो – ३ ह्याट्रिक


प्रतिक्रिया दिनुहोस्