डान्स ताप्लेजुङ डान्सका टप पाँच जनालाई निःशुल्क नृत्य प्रशिक्षण

ताप्लेजुङ, ३ असोज / ताप्लेजुङस्थित कुन्साड् डान्स सेन्टरले आयोजना गरेको ‘डान्स ताप्लेजुङ डान्स’ प्रतियोगितामा फाइनलमा पुगेको टप (उत्कृष्ट) पाँच जनालाई डान्स सेन्टरबाट ६ महिनासम्म निःशुल्क नृत्यकलासम्बन्धी प्रशिक्षण दिने भएको छ । अहिले डान्स सेन्टरले तीन जना कोरियोग्राफरमार्फत उत्कृष्ट पाँच जनाले नृत्यकलाको प्रशिक्षण दिइरहेको जनाएको छ ।

आउँदो शनिबार सदरमुकाम फुङ्लिङस्थित सामुदायिक भवन (सिटी हल) मा सम्पन्न हुन गइरहेको डान्स ताप्लेजुङ डान्सको फाइनल अडिसन अघि डान्स सेन्टरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त सुविधा दिने घोषणा गरेको हो । ‘टप पाँचमा पुगेका सबै प्रतिस्पर्धीले नृत्यकला अभ्यास प्रशिक्षणमा बस्न चाहेमा सेन्टरले यो सुविधा निःशुल्क रुपमा उपलब्ध गराउने छ’ कुन्साड् डान्स सेन्टरका प्रोपाइटर पेम्बा शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार अहिले सेन्टरले कृष्ण तामाङ, अभिशेष मगर र टाइगर तामाङमार्फत कोरियोग्राफी गराइँदै आएको छ ।

असोज ६ गते शनिबार हुने फाइनल अडिसनका लागि एलिना गुरुङ, प्रवेश खतिवडा, रोजी लिम्बू, प्रिती गुरुङ र आयुष लिम्बू अन्तिम पाँचमा पुगेका छन् । गएको भदौ २२ गते भएको सेमिफाइनल चरणको अडिसनबाट उनीहरु फाइनलका लागि छनोट भएका हुन् । यता प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । फाइनल कार्यक्रममा अर्जुनधारा डान्सिङ स्टार आकृति तामाङ र कलाकार वीरेन्द्र श्रेष्ठ समेतको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्