किशोरीलाई करणी गर्ने कारागार चलान

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ३ असोज  / ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका एक युवा कारागार चलान भएका छन् । करणी अभियोगमा पक्राउ परेका जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. ६ फाकुम्बाका २३ वर्षीय कमल लिम्बू पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला अदालत ताप्लेजुङको आदेशानुसार लिम्बूलाई कारागार चलान् गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ सञ्चार शाखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक काशीनाथ रेग्मीका अनुसार स्थानीय एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गत भदौ ६ गते मुद्दा दर्ता भएको थियो ।
पीडित पक्षले भदौ ४ गते राती करिव ८ः३० बजेको समयमा घटना घटेको भनी दिएको जाहेरीपछि लिम्बूलाई पक्राउ गरी अनुसन्धान गरेपश्चात मङ्गलबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच सार्वजनिक स्थानमा यौन अङ्ग देखाएको आरोपमा बाबु छोरा पक्राउ परेका छन् । गत भदौ २१ गते सार्वजनिक ठाउँमा यौनाङ्ग देखाई घटना घटाएको भनी प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि फरार रहेका फुङ्लिङ नगरपालिका–६ का तेजबहादुर लिम्बू र निजका छोरा सुमन लिम्बू मङ्गलबार पक्राउ परेका छन् । पक्राउ परेका बाबु–छोरामाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गर्दै आएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्