मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर / मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।

राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब र उहाँका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो । गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो । उहाँको गठबन्धनले नै अहिले सरकार बनाएको छ ।

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाउनुभएको थियो । नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो । तर पक्राउ भने बुधबार गरिएको छ । पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उहाँका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्