संविधान दिवसमा हाजिरी जवाफ लगायत विविध कार्यक्रम

अरुण पोस्ट संबाददाता

ताप्लेजुङ, ३ असोज  /  कर्मचारी मिलन केन्द्र ताप्लेजुङले संविधान दिवस २०७५ को अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कर्मचारी मिलन केन्द्रले संविधान दिवसका असरमा बुधबार सदरमुकाम फुङ्लिङमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

फुङ्लिङस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा आयोजित प्रतियोगितामा पविभिन्न सात समूह सभागी थिए । प्रतियोगितामा प्रशासन समूह, स्वास्थ्य समूह, बैङ्क समूह, नेपाल प्रहरी, वन लगायतका समूहले सहभागिता जनाएको केन्द्रका जिल्ला अध्यक्ष एवम् घरेलु कार्यालयका उद्योग अधिकृत सुनिल आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार हाजिरी जवाफ प्रतियोगिताका विजेतालाई जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, जिल्ला न्यायाधीस कृपासुर कार्की, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी लगायतले नगद पुरस्कार वितरण गर्नुभएको थियो । यस्तै संविधान दिवसका दिन संविधान दिवस मूल समारोह समितिको आयोजनामा बुधबार बिहान फुङ्लिङ बजारमा प्रभातफेरी गर्नुका साथै जिल्ला समन्वय समितिको हलमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

अन्तक्र्रियामा राजनीतिक दल, स्थानीय जनप्रतिनिधि लगायतका वक्ताहरुले जन संविधान २०७२ बारे आ–आफ्नो धारणा राख्नुभएको थियो । संविधानका विषयमा धारणा राख्दै उहाँले हालसम्मकै सवोत्कृष्ट मानिएको संविधानलाई सबै पक्षले कार्यान्वयन गर्नुपर्ने जोड दिनुभएको थियो । केही राजनीतिक शक्ति र अन्यबाट बिरोध हुनुको औचित्य नरहने पनि उहाँहरुको भनाइ थियो । यता सङ्घीय समाजवादी फोरम नेपाल ताप्लेजुङले भने पत्रकार सम्मेलन गर्दै संविधान दिवसलाई बिरोध गरेको जनाएको छ । नेपालको संविधान २०७२ उत्कृष्ट रहेपनि यसभित्रका केही धारा र व्यवस्थाहरु संशोधन गर्न आवश्यक रहेकाले फोरमले उत्सव होइन, विरोध जनाएको पत्रकार सम्मेलनमा बताइएको छ । फोरमद्वारा जारी विज्ञप्तिमा संविधानभित्र धेरै त्रुटिहरु रहेको र त्यो त्रुटिलाई नसच्याएसम्म फोरमले विरोध जारी राख्ने पनि जनाएको छ ।

फोरम जिल्ला अध्यक्ष मोतिप्रसाद पालुङ्वाले संविधानको धारा २७४ र त्यसका उपधाराहरु संशोधन गरी पुनर्लेखन गर्न फोरमले सरकारलाई दवाब दिँदै आएको जानकारी दिनुभयो । संविधानको संशोधन र पुनर्लेखनका लागि फोरम आन्दोलनरत रहेको र हाल संसदलाई आन्दोलनको थलो बनाएको उहाँले बताउनुभयो । फोरमका नेता कीर्तिमान मादेनले संविधान संशोधन गरी पहिचानसहितको प्रदेश निर्माण गर्नुपर्ने नेपाली जनताको चाहना रहेकाले विद्यमान सङ्कटहरुको समाधन गर्न सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।
उता मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान पार्टी नेपालले पनि संविधान दिवसलाई विरोध गरेको जनाएको छ । लिम्बुवानका नेता मुक्साम लाबुङले पनि संविधान दिवसलाई कालो दिनका रुपमा बुधबार इटहरीमा विरोध कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्