नाजिबलाई थप २५ आरोप

क्वालालम्पुर /  मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई थप २५ बिषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उहाँलाई लगाइएको हो ।

सयौँ लाख डलर उहाँको बैंक खाताबाट लेनदेख गरेको भेटिएको अनुसन्धानमा सम्लग्न अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । नाजिवका समर्थकहरूले क्वालालम्पुर अदालत अगाडी नाजिबको पक्षमा प्रदर्शन गरेका थिए । उहाँलाई लगाइएका आरोपहरू मध्ये केही आरोप गम्भीर प्रकृतिका भएको बताइएको छ । यिनै आरोपलाई निर्वाचनका समय प्रचार गरिएका कारण गत मे महिनामा भएको संसदीय चुनाबमा पनि उहाँ पराजित हुनुभएको थियो । उहाँलाई पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले पराजित गरेको हो ।

विगतमा नाजिवकै संरक्षक रहनु भएका ९३ बर्षिय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफु फेरी राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाउनु भएको थियो । आरोपहरू लगाइएपछि बिहीबार उहाँले अदालत बाहिर आयोजित पत्रकार सम्मेलन मार्फत् आफु दोषी नरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ की मैले सफाई पाउनेछु, कानूनको शासन अनुसार कामहरू हुनेछन् ।”

पूर्व प्रधानमन्त्री नाजिवले आफु सत्यको पक्षमा लडिरहने र भगवानले सत्यलाई जिताउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँलाई राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा बुधबार पक्राउ गरिएको थियो । नाजिब र उहाँका सहकर्मीहरूले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्