मूल कानूनका रुपमा रहेको संविधान सबैले मान्नुपर्छ

भक्तपुर / देशको मूल कानूनका रुपमा रहेको संविधानलाई सबैले मान्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

संविधान दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा उनीहरुले संविधान देशको राजनीतिक र आर्थिक दस्तावेज भएकाले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संविधानको मौलिक हकअधिकार नागरिकले पाउने गरी अझै ऐन बन्न नसकेको उल्लेख गर्दै सबैलाई आर्थिक समानता र व्यक्तित्व विकासमा समान अवसर दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दुई महीना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको चर्चा गर्दै उहाँले देशमा बढ्दो हत्या, बलात्कार र भ्रष्टाचार अन्त्यका लागि सरकार लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य सिर्जना सैँजूले राजनीतिकरूपमा महिला शिक्षित हुनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान देशको मूल कानून भएकाले यसको परिधिभित्र रहेर सबैले काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधि र कर्मचारीले जनताको भावना बुझेर आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्